इन्द्रेणी संवाददाता
दाङ। भोलि फागुन २० गतेदेखि दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८१ हुन लागेको छ । घोराहीस्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा हुन लागेको प्रतियोगितामा दश वटा टिम सहभागी हुने भएका छन् ।
जिल्लामा खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली कांग्रेस दाङकोआयोजनामा हुन लागेको खुला पुरुष भलिबल प्रतियोगितामा प्रदेशका दश वटा टिमको सहभागीता हुने भएको हो । प्रतियोगितामा दाङको शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिकासँगै जिल्ला भलिवल संघ गुल्मी, मनिमुकुन्द भलिवल क्लव रुपन्देही, होराइजन स्पोर्टस क्लव बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ रहभागी हुने छन् ।
त्यस्तै गोरखा स्कुल लमही, दाङ सोसाइटी क्लव घोराही र रोयल मुर्कुटी युवा क्लव बंगलाचुलीको टिम सहभागी हुने भएको नेपाली कांग्रेस दाङका सहसचिव तथा खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोश्रो हुने टिमले नगद एक लाख २५ हजार र तेश्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाली कांग्रेस दाङले जनाएको छ ।
प्रतियोगितामा सहभागी टिमले नौ जना प्रदेशभित्रका खेलाडी र बाँकी तीन जना प्रदेश बाहिरका राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त खेलाडीलाई सहभागी गराउने नियम अनुसार टिममा सहभागी गराएको समेत संयोजक आचार्यले बताए । प्रतियोगिताको फागुन १९ गते आज सोमवार टाइसेट सार्वजनिक गर्ने कार्यक्रम छ ।
