Indrenionline.com

घोराही महोत्सवमा कृषि तथा पर्दशनीलाई निःशुल्क स्टल

घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा फागुन २ गतेदेखि जारी महोत्सवमा कृषि तथा पर्दशनीका स्टलहरुलाई प्राथमिकता दिइएको छ ।

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा कृषी तथा पर्दशनीलाई महत्व दिदै स्टलहरु व्यवस्थापन गरिएको छ । महोत्सवमा विभिन्न सरोकारवाला कार्यालयहरुसँगको समन्वयमा कृषि तथा पर्दशनी गरिएको महोत्सव आयोजक मूल समितिका संयोजक बसन्त जोशीले जानकारी दिए ।

३४ वटा स्टलहरु कृषि तथा पर्दशनीका रहेको स्टल व्यवस्थापन उपसमितिका संयोजक विकाश वलीले जानकारी दिए । कृषी ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालयसँगको समन्वयम कृषि तथा स्थानीय उत्पादनका स्टलहरु व्यवस्थापन गरिएको छ।

‘कृषि ज्ञान केन्द्र, साना तथा घरेलु उद्योग कार्यालय लगायतका सरकारी कार्यालयहरुसँगको समन्वयमा कृषी तथा पदर्शनी स्टलहरु व्यवस्थापन गरिएको छ’ वलीले भने–‘हामीले दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि व्यवसायीहरुसँग समन्वय गरेर जम्मा ३४ वटा स्टलहरु व्यवस्थापन गरेका छौ ।’

जसमध्ये धेरै स्टलहरु नि:शुल्क रुपमा र केही स्टलहरु बिशेष छुटकासाथ व्यवस्थापन गरिएको उनले बताए । स्थानीय व्यवसायी, साना उद्योगहरुलाई प्रोत्साहन गर्नका लागि निशूल्क एवं विशेष छुटमा स्टलहरु उपलब्ध गराएको आयोजकले जनाएको छ ।

फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रवेशकालागि प्रतिव्यिक्त १००, विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८०, अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । महोत्सवमा कृषि, पर्यटन तथा व्यवसायिक गरी ४०० बढी स्टलहरु रहेका छन् । महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको कारोबार गर्ने लक्ष्य रहेको छ ।

रमेशराजले नचाए दर्शक
महोत्सवको १० औँ दिन पनि कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका छन् । महोत्सवमा आईतवार पछिल्लो समयमा लोकप्रीय कलाकार रमेशराज भट्टराईले आफ्नो प्रस्तुतिसँगै दर्शकहरुलाई नचाए । बहुला गायकको रुपमा पहिचान बनाएका उनले आफ्नो आधा दर्जन लोकप्रीय गीतहरु प्रस्तुत गरेका थिए । बेहुला बनाउछु भन्थी बहुला बनाएर गई बोलको गीतबाट थप चर्चामा आएका भट्टराईले आफ्ना चर्चीत गीतहरु प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा दर्शकहरु छमछमी नाचे ।

भट्टराईसँगै हास्य कलाकार कमल गाँउले, गायिका रितु कडेल, सुमी रोका, अस्मीता राना, नवराज काप्री(भाले), राजु बिसी, दोशहरण चौधरी लगायतले आफ्नो प्रस्तुति राखेका थिए।

सोमवार रामचन्द्र काफ्ले
महोत्सवमा सोमवार लोकप्रिय कलाकार रामचन्द्र काफ्लेको प्रस्तुति रहने छ । काफ्लेको साथमा रिया घले, रोशन रत्गैया, जमुना पुन, चित्रा पुन लगायतका कलाकारहरूको प्रस्तुति रहने छ ।