Indrenionline.com

सडक मानवको सहयोगार्थ घोराहीमा धुमधामका साथ सप्ताह ज्ञान महायज्ञको उद्घाटन

इन्द्रेणी संवाददाता
घोराही । सडक मानवहरुको लागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा घोराहीमा ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ मा सुरु भएको छ ।

सडक मानव तथा सार्वजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवश्थामा रहेका खाना, नाना र छाना बिहिन वेवारिसे सडक मानवहरुको सहयोगार्थ आयोजकन गरिएको महायज्ञको बाक्लो भक्तजनहरुको उपस्थितिमा उद्घाटन गरिएको हो । महायज्ञको लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले गरे । महायज्ञ उद्घाटनका क्रममा दीप प्रज्वलन र सेवा घरमा रहेकी ४ महिनाकी बालिकाको अन्नप्रासन समेत गरिएको थियो ।

महायज्ञको उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख घर्ती मगरले पहिला मानव बचाउन तर्फ लाग्न आग्रह गरे । ‘सडक बनाउने काम गर्दै गरौला पहिले मानव बनाऔँ, जुन काम सरकारले अपनत्व लिएर गर्नुपर्छ’ उनले भने, ‘आँफू सरकारमा भएको बेलामा हो काम गर्ने, मानव बनाउने काम गर्नु तपाईहरुका लागि पनि अवसर हो । अवसरको रुपमा लिएर काम गर्नुस् ।’

उनले मानव कल्याण समाजले बेवारिसे एवं मानसिक समस्या भएका मानिसहरुलाई सेवा घरमा राखेर सेवा दिएकोमा धन्यवाद ज्ञापन गरे । सेवा घर नारायणपुरका अवलोकन गरेको बताउदै प्रमुख घर्तीले सरकारले गर्नुपर्ने काम एक सामाजिक संस्थाले गरिरहेकोमा यस अभियानलाई सरकारले पनि साथ र सहयोग गर्नुपर्ने बताए । तीन तहकै सरकारले यो विषयलाई गम्भीर रुपमा लिएर अगाडि बढ्न अनुरोध गर्दै उनले स्थानीय सरकार आफैमा स्वायत्त भएकाले पनि सामाजिक विषयलाई ध्यान दिएर काम गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा उर्जा जलस्रोत तथा सिचाई मन्त्री सीता चौधरीले वर्तमान समयमा मानव सेवामा समर्पित समाज निर्माण गर्न आवश्यक रहेको बताइन् । सबैले सेवा भावले काम गर्नुपर्ने बताउदै मन्त्री चौधरीले मन्त्रालयको तर्फबाट र व्यक्तिगत तर्फबाट महायज्ञ एवं मानव सेवा घरलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

त्यस्तै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सडक मानव मुक्त समाज बनाउनकाल लागि घोराही उपमहानगरपालिकाले मानव कल्याण समाजसँग सहकार्य गरेर काम गरिरहेको बताए । उपमहानगरपालिकाले हरेक बर्ष बजेट बिनियोजन गरेर सेवा घरलाई सहयोग गरेको र सेवा घरलाई अप्ठेरो परिस्थिति आउन नदिने प्रतिवद्धता व्यक्त गरे । साथै उपमहानगरपालिकाले यहाँका सडक बालबाललिका, सडकमा झाडा पशुचौपाया व्यवस्थापनमा पनि उपमहानगरपालिकाले काम गरेको बताए ।

महायज्ञ आयोजक मूल समितिका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डे, एमालेका केन्द्रीय सदस्य जिवन गौतम, माओवादी केन्द्र दाङका अध्यक्ष निर्मल आचार्य, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, महासंघका केन्द्रीय सचिव सविन प्रियासन, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमलगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।

महायज्ञको उद्घाटन पूर्व शोभा कलश यात्रा गरिएको थियो । महायज्ञ स्थलबाट सुरु भएको शोभा कलाश यात्रा जिल्ला अदालत, परिवार नियोजन हुदै भानु चोक, दामोदर चोक, बैंक रोड, निमा हल रोड, ट्रापिक चोक, विपी चोक, सहिद गेट हुदै महायज्ञ स्थलमा पुगेको थियो । शोभाकलश यात्रालाई विभिन्न टोल विकास सस्ंथा तथा व्यवसायीहरुले कलश राखेर एवं फूल मालाले स्वागत गरेका थिए । शोभायात्रामा ५ हजार बढी सहभागिता रहेको थियो ।

महायज्ञ सहसंयोजक नारायण भुषालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अर्को सहसंयोजक बिमला योगीले धन्यवाद ज्ञापन गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण आर.के.शीतल र बिजय पोख्रेलले गरेका थिए ।