दाङ । दाङको तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ५ ज्योतिनगर बस्ने २१ वर्षका पूर्णबहादुर बाँठा र २७ वर्षका प्रविन सुनार रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीको टोलीले बाँठालाई एक ग्राम ३३० मिलिग्राम ब्राउन सुगर र ४२ हजार नगदसहित पक्राउ गरेको हो । प्रहरीले उनलाई सोधपुछ गर्दा प्रविन सुनारबाट खरिद गरेको भनेपछि अनुसन्धानका लागि सुनारलाई पनि आइतबार वेलुका प्रहरीले पक्राउ गरेको थियो ।
त्यसपछि प्रविनसँग पनि खानतलासी लिदा पाँच ग्राम ७२० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । प्रविनको साथबाट प्रहरीले नगद १ लाख २४ हजार ३ सय ९५ रूपैयाँ पनि बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
