इन्द्रेणी संवाददाता
दाङ । दाङको तुलसीपुरमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । विरेन्द्र चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर ५ सम्झना टोलकी ३९ वर्षिय तिर्सना घर्ती मगरको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक विनोदराज खत्रीका अनुसार घर्तीलाई बुधबार दिउँसो पौने दुई बजेतिर तुलसीपुर ५ नयाँ बसपार्कस्थित माछापुच्छ्रे गेट नजिकै बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी घर्तीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याए लगत्तै उपचारकै क्रममा घर्तीको मृत्यु भएको थियो । मृतक महिलाको शवलाई अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। बस र बस चालक तुलसीपुर ६ बस्ने ४२ वर्षीय खिमराज ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
