Indrenionline.com

युवालाई उत्पादसँग जोड्नुपर्छ : पर्यटन मन्त्री न्यौपाने

इन्द्रेणी संवाददाता
दाङ । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले युवालाई उत्पादनसँग जोडनुपर्ने बताएका छन् । त्रिभुवन नगर जेसीजको शुक्रवार घोराहीमा आयोजित ४० औं पदस्थापन तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै युवालाई उत्पादनशील काममा जोडेर उनीहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताएका हुन् ।

त्रिभुवन नगर जेसीज पनि युवाहरुको नेतृत्व विकास र क्षमता अभिबृद्धिका पक्षमा काम गर्ने संस्था भएको उल्लेख गर्दै मन्त्री न्यौपानेले युवाहरुलाई नेतृत्व विकाससँगै उनीहरुको क्षमता अभिबृद्धि गर्दै मूलुकको समग्र विकासमा जोड्न आफू संस्थासँग सहकार्य गर्न तयार रहेको समेत बताए । युवाहरुलाई उद्यमशीलतासँग जोड्न नसक्ने र अहिलेकै गतिमा युवाहरु विदेशीने हो भने अबको दश वर्षपछि नेपाल युवाजनशक्ति विहिन हुने उनको भनाइ थियो ।

त्यसैले पनि लुम्बनी प्रदेश सरकारले युवालाई कसरी उद्योमशीलतासँग जोड्ने र उनीहरुलाई पर्यटन तथा आर्थिक गतिविधिसँग कसरी जोड्न सकिन्छ भनेर काम गरिरहेको मन्त्री न्यौपानेले बताए ।

कार्यक्रममा सन् २०२४ का अध्यक्ष रवि किरण केसीको नेतृत्वको कार्यसमितिले भरखरै सन् २०२५ का लागि अध्यक्ष पदमा निर्वाचित टंक रावत (अनन्त) को नेतृत्वलाई पद हस्तान्तरण गरेको छ । जेसीजमा हरेक एक वर्षमा नयाँ नेतृत्व चयन हुन्छ भने एउटा व्यक्तिले एक पटक मात्रै नेतृत्व गर्न पाउने व्यवस्था छ ।