Indrenionline.com

चिसोबाट बचाउन ८३ विपन्न विद्यार्थीलाई न्यानो कपडा

देउखुरी । दाङको राप्ती गाउँपालिकाका दुई विद्यालयका ८३ जना विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वडा नं. ५ का दुई विद्यालयका ८३ जना विपन्न विद्यार्थीलाई जाडोबाट वच्नका लागि न्यायो कपडा वितरण गरिएको हो ।

त्यस्तै वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका २५ जना बेसाहारा मानवलाई पनि न्यानो कपडा वितरण गरिएको छ। क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको सहयोग एवम् राप्ती गाउँपालिकाको समन्वयमा न्यानो कपडालगायतका सामग्रीहरु वितरण गरिएको हो।

सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँ १६ र प्राथमिक विद्यालय थकरीकोटका ६७ जना विद्यार्थीहरूलाई हुड, सुरुवाल जस्ता न्यानो कपडा तथा कापी, पेन्सिल, इरेजर जस्ता शैक्षिक सामग्री वितरण गरिएको संस्थाका विद्यार्थी संयोजक दिपा चौधरीले जानकारी दिएका छन् ।

त्यसैगरी संस्थाले निलसागर सेवा आश्रममा रहेका बेसाहारा मानवहरूलाई जाडोबाट जोगिन आवश्यक न्यानो कपडा वितरण गरिएको संयोजक चौधरीले बताए ।

सो अवसरमा कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लगायतले सामग्रीहरु वितरण गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले न्यानो कपडा र शैक्षिक सामग्री वितरणले विद्यार्थीहरूलाई अध्ययन कार्यमा थप सहजता हुने विश्वास व्यक्त गरेका थिए ।