इन्द्रेणी संवाददाता
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले ३२ औं स्थापना दिवस मनाएको छ । महासंघले आज विहीबार घोराहीमा स्थापना दिवस तथा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सचिव सविन प्रियासन, लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चापागाईँ, महासंघ दाङका पूर्व अध्यक्ष केवी मशाल, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष डा. बालकृष्ण चापागाईँ, प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, अकोर्यापका लेखा समिति संयोजक संगित बस्याल, प्रेस चौतारी दाङका अध्यक्ष प्रेम राम्जा, प्रेस सेन्टर दाङका कार्यवहाक अध्यक्ष अनिता पोख्रेल, समाजवादी पत्रकारका अध्यक्ष सूर्य विसी, प्रगतिशिल पत्रकार संघका अध्यक्ष महेश रिजाल, सुशीला आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्ष दुर्गालाल केसीले ११ औं कार्यसमितिले तीन वर्षको कार्यकालमा गरेका महासंघले जिल्लाका पत्रकारिताका विकास र महासंघको संस्थागत विकासको प्रगति एवं गतिविधिहरुबारे जानकारी दिएका थिए ।
प्रमुख निर्वाचन समितिका संयोजक सुदीप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा दाङ शाखामा सदस्य भई महासंघको प्रदेश तथा केन्द्रमा विभिन्न पदमा निर्वाचित पदाधिकारीहरुलाई कदर पत्र प्रदान गरिएको थियो भने महासंघको ११ औं कार्यसमितिमा रहेर आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबै पदाधिकारी तथा सदस्यहरुलाई निवर्तमान अध्यक्ष दुर्गालाल केसीले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।
प्रदेश र जिल्ला कार्यसमितिको शपथ ग्रहण
यसैबीच नेपाल पत्रकार महासंघको मंसिर २८ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन कमिटीले पद तथा गोपिनीयताको शपथ ग्रहण गराएको छ ।
त्यस्तै महासंघको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारी तथा सदस्य, प्रदेश परिषद सदस्य, राष्ट्रिय परिषद सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपिनीयताको शपथ ग्रहण गराइएको थियो । कार्यक्रममा स्वागत निर्वाचन समिति सदस्य भुपेन्द्रप्रकाश वलीले गरेका थिए भने सहजीकरण हरि बेल्वासेले गरेका थिए ।
निवर्तमान र वर्तमान कार्यसमितिको सयुक्त बैठक
यसैबीच नेपाल पत्रकार महासंघ दाङ शाखामा नवनिर्वाचित कार्यसमिति र निवर्तमान कार्यसमितिको सुयक्त बैठक आजै सम्पन्न भएको छ । महासंघका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा बसेको बैठकले १२ औं कार्यसमितिको नियमित बैठक हरेक महिनाको १२ गते बस्ने निर्णय गरेको छ । त्यस्तै महासंघ जिल्ला शाखाको नयाँ कार्यसमिति सर्वसम्मत गराउन सहयोग गर्ने विभिन्न पत्रकारका संगठन, महासंघका साधारण सदस्यलगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ ।