घोराही, मङ्सिर १३ गते । घोराही नगर खेलकुद विकास समितिको आयोजनामा आजदेखि घोराहीमा दोस्रो अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता–२०८१ शुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार बास्केटबल सङ्घ दाङको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका–१८ सालघारीमा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको घोराही उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख हुमा डिसीले उद्घाटन गरिन् । स्वस्थ नागरिक उत्पादनका लागि खेलकुदको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले खेलकुदका गतिविधि चलायमान बनाउन पूर्वाधार विकास आवश्यक रहेको बताइन् ।
मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता छन् । प्रतियोगिता लिग चरणमा सञ्चालन भइरहेको खेल संयोजक विमल थापाले बताए । प्रतियोगिताको विजेता टिमले नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
