Indrenionline.com

गणेश मन्दिरमा एक लाखको अक्षयकोष स्थापना

दाङ । घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर निवासी ऋषिराम शर्माले आफ्नी स्वर्गीय श्रीमती ज्ञाना शर्माको स्मृतिमा गणेश मन्दिर भरतपुरमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् ।

घोराही १५ भरतपुरमा रहेको श्री गणेश समाज सुधार समिति गणेश मन्दिर स्थापना गर्नका लागि ज्ञाना शर्माले महत्वपूर्ण योगदान गरेको र उनको इच्छा अनुसार मन्दिरको दैनिक पूजाआजा गर्न सहज होस भन्नका लागि ज्ञाना-ऋषि अक्षयकोष स्थापना गरिएको अक्षयकोषदाता ऋषिराम शर्माका छोरा कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

गणेश मन्दिर स्थापना गर्नका लागि आमाले शुरुवाती चरणदेखि लागेकी र जीवनको अन्तिम क्षणमा मन्दिरको पूजाअर्चनमा सहयोग गर्नका लागि अक्षयकोष स्थापना गरिदिन भनेकाले मन्दिरमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छोरा पौडेलले बताए ।

गणेश समाज सुधार समिति भरतपुर दाङले आज शनिवार एक कार्यक्रमको आयोजना गरी अक्षयकोषको रकम ग्रहण गर्नुका साथै अक्षयकोष स्थापना गरेका ऋषिराम शर्मा, छोराहरु कृष्णप्रसाद पोडेल र बासु शर्मा, बुहारी बसन्ता पौडेल, ज्वाई दिपक रेग्मीलाई सम्मान गरेको छ ।

गणेश समाज सुधार समितिका अध्यक्ष शंकर गौतमले मन्दिर स्थापनाका लागि स्वर्गीय ज्ञाना शर्मा र उनको परिवारको महत्वपूर्ण योगदान रहेको भन्दै अक्षयकोष स्थापना गरेर अरुलाई पनि प्ररणादायि कामप्रति प्रोत्साहन गरेको बताए ।