इन्द्रेणी संवाददाता
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्वमा हुन सक्ने सम्भावित घटनाहरू मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । चाडपर्वको समयमा सडक दुर्घटना, लुटपाट, चोरीडकैटीलगायतका घटना हुन नदिन सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङले शनिवार जिल्ला प्रहरी कार्यालय घोराहीमा जिल्लाका सुरक्षा निकायका अधिकारीहरू र सञ्चारकर्मीसँग अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरी चाडपर्व लक्षित जिल्लाको सुरक्षा योजनाबारे जानकारी दिएको छ ।
कार्यक्रममा जिल्लाको सुरक्षा व्यवस्था र यसमा भएका चुनौतीका बारेमा जानकारी दिदै जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनकुमार तिमिल्सिनाले चाडपर्वको समयमा हुने अराजक गतिविधि र अपराधिक गतिविधिलाई नियन्त्रण गर्न चाडपर्व सुरक्षा योजना लागु गरिएकोे जानकारी दिए ।
सुरक्षा योजनामा विशेष गरी यो वेला सर्वसाधारणको चहलपहल बढी हुने बैंक, सुनचाँदी पसल, यातायात क्षेत्रलगायतका स्थानमा सुरक्षालाई थप व्यवस्थित बनाउदै बढी निगरानीमा राखिएको जानकारी दिए । त्यस्तै चाडपर्वको समयमा सर्बसाधारणले सास्ती भोग्नु नपरोस भनी जिल्लाका घोराही, लमही र तुलसीपुर क्षेत्रमा यात्रु सहायता कक्षा समेत स्थापना गरिएको छ । यतिवेला प्रहरीले यहाँका नागरिकका प्राथमिकतामा के छ त्यसलाई ध्यान दिएर नागरिकको चाहाना र प्राथमिकतामा आधारमा सुरक्षा व्यवस्थालाई कडाइ र व्यवस्थापन गरिने एसपी तिमिल्सिनाले बताए ।
त्यस्तै जिल्लामा भइरहेका लागुऔषध कारोवार, जुवातास, जवरजस्ती करणी जस्ता घटना न्यूनिकरण गर्नका लागि प्रहरीले सक्रियताका साथ काम थालेको प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकरी कृष्ण प्रसाद लम्सालले जिल्लाको शान्ति सुरक्षा सुव्यवस्थाका लागि आफूहरू सधै सचेत र सजक भएर काम गरिरहेको बताए । उनले यतिवेला नेपालीहरुको घरदैलोमा बडादशै आइसकेकाले यो वेला हुन सक्ने घटनालाई नियन्त्रण गर्न जिल्लाका सबै सुरक्षा निकायसहित जिल्ला प्रशासन कार्यालय अघि बढिसकेको बताए । यसमा रचनात्मक रुपमा सहयोग गर्न जिल्लाका सञ्चारकर्मीहरुलाई प्रजिअ लम्सालले अनुरोध गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जिल्लाको सुरक्षा व्यवस्थालाई वलियो बनाएर आमनागरिकलाई सुरक्षित बनाउदै नागरिकलाई सूसुचित गर्नेमा सञ्चारकर्मी र नेपाल पत्रकार महासंघ सधै सकारात्मक रहेको बताएका थिए ।
कार्यक्रममा जिल्लास्थित सशस्त्र प्रहरीका प्रमुखहरू, राष्ट्रिय अनुसन्धानका प्रमुखलगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।
