Indrenionline.com

करको दायरा पुनरावलोकन गर्न माग गर्दै नारायणपुर उवासंघले बुझायो उपमहानगरपालिकालाई ज्ञापनपत्र

दाङ । नारायणपुर उद्योग वाणिज्य संघले घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीलाई कर सम्बन्धी समस्या सहजीकरणका लागि ज्ञापनपत्र बुझाएको छ । संघको आयोजनामा गरिएको बजार सरसफाइ कार्यक्रम पश्चात संघले नगर प्रमुख चौधरीलाई ज्ञापनपत्र बुझाएको हो ।

आर्थिक मन्दीका साथै व्यापार व्यवसायमा आएको गिरावटका कारण व्यवसायी समस्यमा परेको बताउँदै संघले नगर प्रम्ख चौधरीलाई उपमहानगरपालिकाले लिंदै आएको कर सम्बन्धी दायरामा पुनरावलोकन गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । व्यवसायिक करमा थप फोहर कर हुँदा अत्याधिक भएकोले पुनरावलोकन गर्नुपर्ने, फोहर कर घरबेटीबाट घरको प्रति वर्गमिटर ६५ पैसाका दरले र भाडावाला व्यवसायीबाट एक सयदेखि माथि मासिक रुपले गर्दा दोहोरो तरिकाले उठाइने कार्यलाई व्यवस्थित गर्नुपर्ने विषय ज्ञापनपत्रमा उल्लेख छन् ।

त्यस्तै विषम परिस्थितिमा जग्गाको कर दोब्बर बन्दा उक्त भार घुमीफिरी व्यवसायीमा थपिने भएकोले घटाउनुपर्ने, कर निर्धारण लगायत अन्य छलफलहरुमा यस उपमहानगरपालिका भित्र रहेको नारायणपुर उद्योग बाणिज्य संघलाई पनि सहभागी गराउनु पर्ने, करको दरवृद्धि गर्नुभन्दा दायरा फराकिलो बनाई छुटेका व्यवसायीलाई पनि अनिवार्य समाविष्ट गरिनुपर्ने लगायतका विषय ज्ञापनपत्रमा रहेका छन् । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख चौधरीले ज्ञापनपत्रलाई सूक्ष्म रूपमा अध्ययन गरी आगामी दिनमा पुनरावलोकन गरिने बताए ।