Indrenionline.com

घोराही उपमहानगरपालिकाको दुई अर्व ४२ करोड बजेट

दाङ। घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि अनुमानित बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले आइतवार नगरसभाको १५ औं अधिवेशनबाट २ अर्ब ४२ करोड ७७ लाख १८ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

नगरसभाको १५ औं अधिवेशनमा उपप्रमुख हुमाकुमारी डिसीले आगामी आर्थिक बर्ष २०८१–८२ का लागि चालुतर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पुँजीगततर्फ ८७ करोड ५१ लाख ४३ हजार रुपियाँको बजेट प्रस्तुत गरेकी थिइन् ।

बिनियोजित रकममध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ८२ करोड ९७ लाख ५८ हजारमध्ये ११ करोड ६३ लाख २० हजार अर्थात १४।०२ प्रतिशत पुँजीगत खर्च र ७१ करोड ३४ लाख ३८ हजार अर्थात ८५।९८ प्रतिशत चालु खर्च रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान ३ करोड ६४ लाख ६२ हजारमध्ये ३ करोड ६० लाख पुजीगत खर्च र ४ लाख ६२ हजार चालु खर्च रहेको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय (घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दात समेत) बाट विनियोजन गरिएको बजेट १ अर्ब ५६ करोड १४ लाख ९८ हजारमध्ये ५५ करोड ७१ लाख १२ हजार चालु खर्च र १ अर्ब ४३ लाख ८६ हजार पुँजीगत खर्च रहेको छ ।