Indrenionline.com

तुलसीपुरवासीले घरमै पाउन थाले स्थानीय सरकारको सिफारिस

दाङ । तुलसीपुर उपमहानगरपालिकाले जिल्लामै पहिलोपटक डिजिटल सिफारिस सेवा सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले आज वडा नम्वर ६ बाट डिवि किराना पसल दर्ताको डिजिटल सिफारिस माग गरेका सेवाग्राही वीरबल शर्मालाई डिजिटल सिफारिस दिएर सेवाको शुभारम्भ गरे ।

नगर प्रमुख खड्काले तुलसीपुर उपमहानगरपालिकाले डिजिटल सिफारिस ऐन जारी गरेर १९ वटै वडामा आजदेखि कार्यान्वयनमा ल्याएकोे जानकारी दिए । बिस्तारै अन्य सेवा समेत डिजिटलाइज्ड गर्दै लैजाने उनले बताए । नगरप्रमुख खड्काले नगरवासीलाई हात हातमै सेवा प्रदान गर्नका लागि सेवा सुरु गरिएको बताए ।

उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत सविन केसीले तुलसीपुर उपमहानगरपालिकाको एप्स डाउनलोड गरी सेवाग्राहीले जुनसुकै ठाँउबाट सिफारिस लिन सकिने बताए । तत्कालका लागि वडाबाट प्रदान गरिने ३४ प्रकारका सिफारिस प्राप्त गर्न सकिने बताए ।

उपमहानगरले डिजिटल सिफारिस सेवा सुरु गरेकाले अब तुलसीपुर उपमहानगरवासी कुनैपनि सिफारिस ल्याउन वडा वा उपमहानगरको कार्यलयमा आउन नपर्ने भएको छ ।