तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई पढ्दै कमाउँदै कार्यक्रममा समावेश गर्नका लागि विभिन्न उपकरण मर्मत गर्ने सेन्टर खोल्ने भएको छ ।
विद्युत, फ्रिज, एसी, मोटर, टेलिभिजन, पंखा लगायतका उपकरण विद्यार्थीहरुबाटै मर्मत गर्ने गरी मर्मत सेन्टर सञ्चालन गर्न लागेको कलेजका प्रमुख वसन्त आचार्यले बताए । ‘विद्यार्थीले सिकेको सीपलाई आयआर्जनसँग जोड्नका लागि हामीले यस्तो सेन्टर स्थापना गरेका हौँ’ प्रमुख आचार्यले भने ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले मर्मत सेन्टर खोल्नका लागि उपमहानगरपालिकाले सहयोग गर्ने जानकारी दिएका छन् । कलेजले मर्मत सेन्टर सञ्चालनका लागि विद्यार्थीहरुलाई तालिम समेत प्रदान गर्न लागेको प्रमुख आचार्यले जानकारी दिए ।
दक्ष प्राविधिकहरुबाट फ्रिज, एसी, पंखा, मोटर लगायतको मर्मत सम्बन्धि तालिम सञ्चालन गर्न लागिएको हो ।
तालिम पश्चात वर्कशप सञ्चालनका लागि विद्यार्थीहरुलाई सहभागी गराइने कार्यक्रम संयोजक अपिल आचार्यले बताए । संयोजक आचार्यले विद्यार्थीहरुले न्युनतम शुल्कमा मर्मत गर्ने समेत बताए । विद्यार्थीहरुको तालिम समापनसँगै मर्मत सेन्टर खोलिने छ ।
कलेजले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को साझेदारीमा पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आएको छ ।
