Indrenionline.com

दाङ क्रिकेट लिग–२ को उपाधि दंगाली लायन्सले हात पार्यो

दाङ । दोस्रो संस्करणकोे नेपाल टेलिकम दाङ क्रिकेट लिगको उपाधि दंगाली लायन्सले जितेको छ । घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो संस्करणको उपाधि घोराही टाईगर्सले जितेको थियो । दंगाली लायन्सले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको तुलसीपुर रोयल्सले १६ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ६२ रन बनाएपछि उपाधि उपाधि दंगालीले जितेको हो ।

तुलसीपुर रोयल्सका लागि रुपेश सिंहले २० रन, मार्की खेलाडी अमरसिंह रौटेलाले ११ रन बनाउँदा अरु ब्याटरले सम्हालिएर खेल्न नसक्दा ६१ रनमा अलआउट हुन पुग्यो । सुस्त सुरुवात गरेको तुलसीपुरले पहिलो विकेट पाँच दशमलव २ ओभरमा विपिन रावललाई ६ रनमा गुमाउँदा टीमको खातामा केवल १० रन बनेको थियो । प्रकाश जैशीको बलमा लामो सट हान्ने क्रममा दंगालीका कप्तान विपिन खत्रीको हातबाट क्याच आउट भएसँगै तुलसीपुरको विकेट पतन लगातार गयो ।
तुलसीपुरका लागि विराटसिंह भण्डारीले ६ रन, भुवन कार्कीले ५ रन, नवीन बिकले ४ रन, गोपाल केसीले ३ रन, स्माईल अन्सारीले २ रनको योगदान दिए ।

दंगाली लायन्सका लागि बसिर अहमदले अलराउण्डर प्रदर्शन गर्दै ३ विकेट लिए । प्लेयर अफ द म्याच बसिरले ४ ओभरमा मात्र १३ रन खर्चिए । यस्तै बिपिन खत्री, बीरबहादुर घर्ती मगर, प्रकाश जैसीले समान २–२ विकेट तथा शंकर रानाले १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो । पहिलो बलमै शुरुवाती ब्याटर सन्तोष कार्की रन आउट हुँदै पेभेलियन फर्किएपछि केही दवावमा देखिएको दंगालीका लागि दंगालीका लागि कप्तान बिपिन खत्रीले कप्तानी पारी खेल्दै अविजित सर्वाधिक ४५ रन बनाएपछि टीम सहज अवस्थामाा पुगेको थियो । ३८ बलमा २ चौका र ३ छक्काको मद्दतमा दंगालीका लागि खत्रीले हानेका थिए ।

उपाधि विजेता दंगाली लायन्सले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल पाएको छ भने उपविजेता तुलसीपुर रोयल्सले पनि नगद १ लाख रुपैयाँसहित ट्रफी मेडल पाएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेबाट खेल सञ्चालन भएको थियो ।