Indrenionline.com

अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवको ९० प्रतिशत तयारी पूरा

दाङ । दाङको घोराहीमा हुन लागेको बाह्रौ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को ९० प्रतिशत तयारी पूरा भएको छ । “पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार” भन्ने मूल नाराका साथ यही फागुन १८ गतेदेखि २१ गतेसम्म हुने अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी ९० प्रतिशत पूरा भएको आयोजक मूल समितिले जनाएको छ ।

महोत्सवका लागि गठन भएका विभिन्न समिति उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरेको र भौतिक निर्माणको तयारी ९० प्रतिशत पूरा भएको महोत्सव आयोजक मूल समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिए । महोत्सवका लागि आवश्यक भौतिक पूर्वाधार तयारी अन्तिम चरणमा पुगेको जोशीले बताए ।

महोत्सवक सञ्चालन हुने घोराहीको कृषि सामग्री केन्द्रको प्राङ्गण (जिल्ला अदालतको पश्चिमतर्फ) मा भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको, दाङ आउने कलाकारहरुलाई आवास तथा भोजनका लागि व्यवस्थापन पूरा गरिएको, शोभायात्राका लागि सम्पूर्ण व्यवसायिक संघसंस्था, सामाजिक संघ सस्थाहरुलाई पत्राचार गरिसकिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।

दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पु¥याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने, दाङसहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमिका खेल्ने, विभिन्न देशहरुको कला संस्कृतिको जिल्लामै बसेर जिल्लाबासीहरुलाई अवलोकन गराउने लगायतका उद्देश्य राखेर आयोजना गरिएको अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपाल सहित १३ देशका ३०० बढी कलाकारहरुको प्रस्तुति रहनेछ ।

महोत्सवको अघिल्लो दिन फागुन १८ गते स्थानीय झाँकीसहित शोभा यात्रासँगै महोत्सवको उद्घाटन गरिनेछ भने फागुन १९ र २० गते नेपाली सांगितिक क्षेत्रका कलाकारहरुको प्रस्तुति रहनेछ । यस्तै फागुन २१ गते नेपालसहित १३ देशका ३०० बढी कलाकारहरुको प्रस्तुति रहनेछ । जसमा नेपाल, अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरियालगायत देशका कलाकारहरुको प्रस्तुति रहनेछ । महोत्सवमा प्रवेशका लागि १०० रुपैयाको टिकट शुल्क निर्धारण गरिएको छ ।

शोभायात्राको रुट निर्धाराण

महोत्सवको पहिलो दिन उद्घाटन पूर्व हुने शोभायात्राका लागि रुट निर्धाराण गरिएको छ ।

ट्राफिक चोकबाट शुरु भएर निमाहल रोड, गणेश मन्दिर, बैंक रोड, दामोदर चोक, भानु चोक, शहिद गेट हुदै महोत्सव स्थलमा पुग्ने शोभायात्रा आयोजक मूल समितिका सहसंयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । साथै उनले सम्पूर्ण दाङबासीहरुमा शोभायात्रामा सहभागी हुन अनुरोध गरेका छन् ।