दाङ। शनिवार सम्पन्न घोराही उपमहानगरपालिकास्तरिय छैठौं मेयर कप फूटवलको अन्तिम खेल वडा नं. १७ ले जितेको छ । योसँगै यस वर्षको मेयर कप फूटवल २०८० को उपाधि घोराही १७ नम्बरले हात पारेको छ । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. १० लाई २–१ को गोल अन्तरले पराजित गर्दै १७ ले उपाधि हात पारेको हो ।
घोराहीको नवलपुर फूटवल मैदानमा सम्पन्न खेलमा पहिलो हापको ३१ औं मिनेटमा गोल खाएको वडा नं. १० ले दोस्रो हापको २२ औं मिनेटमा गोल गर्दै टिमलाई १/१ को बराबरी गरेको थियो । तर निर्धारित ९० मिनेटको समयमा बराबरी गोल भएपछि अतिरिक्त समयको सदुपयोग गर्दै वडा नं. १७ ले निर्धारित समय सकिन २ मिनेट अगाडिनै निर्णायक गोल हानेको थियो । खेलमा पहिलो गोल वडा नं. १७ का जर्सी नं. ७ का युवराज रानाले गरेका थिए । त्यसको जवाफी गोल वडा नं. १० का जर्सी नं. ८ का दिपेश पुनले गरे । त्यसपछि निर्णायक गोल वडा नं. १७ का सुजल बस्नेतले गरेका थिए ।
मेयर कप उपाधि जितेको घोराही उपमहानगपालिका १७ ले नगद एक लाख, कप, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता घोराही–१० ले नगद ५० हजार मेडल र प्रमाणपत्र पाएको छ ।