Indrenionline.com

३०० बढी छात्रालाई सेनेटरी प्याड वितरण

दाङ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले ३०० बढी छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । सेवा केन्द्रले आफ्नो ३० औ स्थापना दिवशको अवसरमा घोराही उपमहानगरपालिका ६ स्थित जयशेर मावि रावतगाँउका छात्राहरुलाई सोमवार सेनेटरी प्याड वितरण गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उप–प्रमुख हुमा डि.सीको प्रमुख आतिथ्य र विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र पुनको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख डिसीले संस्थाले बार्षिकोत्वसको अवसरमा सामाजिक कामहरु गरेको धन्यवाद ज्ञापन गर्दै यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिन अनुरोध गरिन् ।

संस्थाले स्थानीय उद्योग स्थापना गरी सोही उद्योगबाट उत्पादन गरेको सेनेटरी प्याड निशुल्क रुपमा वितरण गरेकोमा खुसी व्यक्त गर्दै उनले छात्रा एवं शिक्षिकाहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड प्रयोग पश्चात सल्लाह सुझाव दिन आग्रह गरिन् ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रले ग्रामीण क्षेत्रका छात्राहरुलाई महिनावारीको समयमा विद्यालय छोड्नुपर्ने बाध्यता कम गर्नकालागी विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको छ । जिल्लाका ग्रामीण क्षेत्रका छात्रा एवं जोखीममा रहेका समुदायका महिलाहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड वितरण गर्दै आएको संस्थाका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिइन् । संस्थाले सञ्चालन गरेको महिला स्वरोजगार केन्द्र घोराही १५ ले उत्पादन गरेको सेनेटरी प्याड निशुल्क रुपमा समुदायमा वितरण गर्दै आएको उनले बताइन ।

कार्यक्रममा मनोविमर्शकर्ता लक्ष्मी ढकालले सेनेटरी प्याड प्रयोगका विषयमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजिकरण कार्यक्रम अधिकृत आर.के.शीतलले गरेका थिए ।