दाङ । दाङको बंगलाचुली गाउँपालिकाद्वारा संचालित प्रस्तावित बंगलाचुली अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरवृद्धि गरिने भएको छ । लुम्विनी प्रदेश सरकारले बंगलाचुली अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा संचालनका लागि तयारी थालेको हो ।
बंगलाचुली अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगर अध्यक्षता तथा लुम्विनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव डा. जर्नादन पन्थीको विशेष उपस्थितीमा अस्पतालको स्थलगत अवलोकन गरिएको हो ।
अवलोकनका क्रममा लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा. जर्नादन पन्थीले तत्काल अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि पहल थालिने बताए । उनले अब अस्पतालबाट छिट्टै विशेषज्ञ स्वास्थ्य सेवा सचालन गरीने बताए । स्वास्थ्य सचिव डा. पन्थीले भने, “विशिषज्ञ चिकित्सक व्यवस्थापन सहितको सेवा र संरचना फेर्नका लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको छ ।”
सो अवसरमा बंगलाचुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले बंगलाचुली अस्पताललाई गुणस्तरिय स्वास्थ्य सेवा दिनका लागि प्रदेश सरकार माहतहत संचालनका लागि आफुहरुले गरेको पहलले सार्थकता पाउँन थालेको भन्दै खुसी व्यक्त गरे ।
