Indrenionline.com

चोरीका ६ ओटा मोटरसाइकलसहित तीन जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ६ साउन । दाङ प्रहरीले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । विभिन्न समयमा मोटरसाइकल चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक समेत गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका ९ घर भई हाल घोराही १४ मा बस्ने ३० वर्षका भानुभक्त वाँठा, तुलसीपुर उपमहानगरपालिका १९ घर भई घोराही ११ मा बस्ने २१ वर्षका मदन पुन र तुलसीपुर १८ दुधरास वस्ने १८ वर्षका बादल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुसँग केही १८ वर्ष नपुगेका बालकहरु पनि चोरी कार्यमा संलग्न पाइएको छ ।

उनीहरुले लामो समयदेखि मोटरसाइकल चोरी गरी जिल्ला वाहिर वा जिल्लाभित्रै व्यक्ति तथा वर्कसपहरुमा सस्तो मूल्यमा विक्री गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

उनीहरुबाट चोरीका ६ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुमा थप अनुसन्धान भइरहेको र कानुन अनुसार कारवाही गरिने एसपी काफ्लले बताए ।