Indrenionline.com

सिस्नेखोला किनारको नाङ्गो पाखामा बृक्षरोपण

दाङ, २७ असार । दाङको घोराही उपमहानगरपालिका वडा नं ४ सिस्नेखोलाको किनारा रहेको खाली जग्गा आज बृक्षरोपण गरिएको छ । बर्षौदेखि पराम्परागत खुल्ला चरिचरणको रुपमा रहेको नाङ्गो पाखामा आज आइतवार उपभोक्ताहरुले बृक्षारोपण गरेका हुन ।

स्थानीय बसन्तापुर र स्यालापानी सामुदायिक वन क्षेत्रमा पर्ने सिस्नेखोलाको नदी किनारमा रहेको जग्गामा दुइ सय बढि उपभोक्ताहरुले बिरुवा लगाएका हुन । उक्त बृक्षरोणको संरक्षणका लागि डिभिजन वन कार्यालय दाङले ५ सय ४५ मिटर काटेतारबार समेत गरिदिएको छ ।

करिव २० हेक्टर खाली वन क्षेत्रमा असना, हर्रो, बार्रो, अमला, सुगन्धकोकिला, बडहर प्रजातिका ३ हजार २ सय बिरुवा लगाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । बर्षौदेखि खेरा गइरहेको र भूक्षयको जोखिम समेत रहेको उक्त क्षेत्रमा संरक्षणमुखी बिरुवा रोपण गरी नमुना योग्य बन बनाउने योजनाका साथ कार्यक्रम थालिएको कार्यालयले जनाएको छ ।

बसन्तापुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन योगीको सभापतित्व एंव डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष मुनाल घिमिरेको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहायक वन अधिकृत भक्तबहादुर चौधरी, अनन्त डाँगी लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण सूचना अधिकारी खिमबहादुर केसीले गराए ।

डिभजिन वन कार्यालयले दाङमा संरक्षणमुखी बृक्षरोपण कार्यक्रम शुरु गरेको छ । बषेनी बिरुवा लगाउने तर लगाउने बिरुवा हुर्काउने र संरक्षणमा चुनौती बढ्दै गएपछि यो बर्षदेखि संरक्षणमुख बृक्षरोपण कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

अभियानकै रुपमा बृक्षरोपण गरेर कम मात्रै बिरुवा हुकाउने भन्दा बरु थोरै लगाउने र धेरै हुर्काउने लक्ष्यका साथ यो बर्ष दाङमा यो बर्ष करिव २ सय हेक्टरमा करिवा दुइ लाख बिरुवा लगाइएको डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठ जानकारी दिए ।