गिरिराज नेपाली
घोराही, १५ बैशाख । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताएका छन् ।
देश अप्ठ्यारोमा परेको बेला जहिले पनि काँग्रेस र माओवादीले निकास दिदै आइरहेको भन्दै महराले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि काँग्रेस र माओवादीको नेतृत्वबाट सम्भव भएको बताए । घोराही नगरको विकास र समृद्धिका लागि गठबन्धनको नेतृत्वको जरुरी रहेको भन्दै महराले गठबन्धनले सक्षम र कुशल नेताहरुलाई नगरमा पठाएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले गठबन्धनमा आबद्ध दलहरुबीच सिद्धान्त फरक भए पनि राष्ट्रियताको सवाल समान रहेकाले प्रतिगमनकारी शक्तिलाई हराउन र गठबन्धनका उम्मेद्वारहरु जिताउनु पर्नेमा जोड दिए । प्रतिगमनकारीबाट मुलुकलाई जोगाउन सत्तारुढ गठबन्धनले स्थानीय सरकारदेखि केन्द्रसम्म प्रतिगामी शक्तिबाहेकको सरकार बनाउनु पर्ने उनको भनाइ थियो ।