दाङ, १४ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाले कार्यालयले तिर्नुपर्ने विद्युत महसुल नतिर्दा कार्यालयको विद्युत लाइन काटिएको छ । कार्यालयले हालसम्मको ९० लाखभन्दा बढी विद्युत वक्यौता नतिरेपछि विद्युत लाइन काटिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले बताएको छ ।
त्यस्तै उज्यालो तुलसीपुर बनाउने उद्देश्यले तुलसीपुरमा जोडिएको सडक बत्तीको समेत उपमहानगरपालिकाले लामो समयदेखि महशुल बुझाएको छैन । सडक बत्तीको मात्रै जरिमानासहित ९० लाखभन्दा बढी बक्यौता रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले बताएको छ । उपमहानगरपालिकाले गत साउन महिनामा सडक बत्तीको ३० लाख महसुल बुझाए पनि अझै ९० लाख वक्यौता बुझाउन बाँकी रहेको छ ।
यता उपमहानगरपालिकाले भने कार्यालयले नियमित रूपमा विद्युत महसुल तिर्दै आएको बताएको छ । जनप्रतिनिधि नभएको मौका पारेर कर्मचारीलाई सास्ती दिने उद्देश्यले नियतवश विद्युतलाइन काटिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए । एकपटक पनि नसोधेर जानकारी विना नै विद्युत लाइन काटिनु नियतवश देखिएको उनले भनाइ छ ।
विद्युत प्राधिकरणले उपमहानगरपालिकाको विद्युतलाइन काटेपछि कार्यालयको काम जेनेरेटरबाट गरिदै आएको छ ।