नारायणपुर, ४ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले शौचालयको निर्माण गरेको हो ।
नेपाल सरकार र विश्व बैंकको अन्तराष्ट्रिय विकास संस्थाको आर्थिक सहयोगमा खानेपानी तथा सरसफाई कोष विकास समिति(फन्बोर्ड) को व्यवस्थापनमा २२ लाखको लगानीमा शौचालयको निर्माण गरिएको हो । शौचालयको गणपति बाबा निर्माण सेवा प्रालिले निर्माण गरेको हो । महिला, पुरुष र अपांगमैत्री छुट्टाछुट्टै शौचालय निर्माण गरिएको छ ।
नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कुलप्रसाद रजौरे श्रवणको अध्यक्षता एवं घोराही १० का वडा अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सल्लाहकार कमल वली, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर रावत, लायन्स क्लब नारायणपुरका कोषाध्यक्ष बिनोद केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।