दाङ, १ असोज। दैनिक सयौँको संख्यामा सवारी साधन आवागमन गर्ने फराकिलो सडक पनि साँघुरिदै गएको छ । सडक स्तरोन्नतीको नाममा सडकलाई ठाउँ–ठाउँमा चिरा पारिएको छ । सडक निर्माणको नाममा अस्तव्यस्त हुँदा २४ किलोमिटरको दूरीको यात्रा घण्टौँ लाग्ने गरेको छ ।
घोराही–तुलसीपुर सडक फोरलेन स्तरोन्नतीको काम शुरू भएको करिब तीन वर्ष पुग्नै लागेको छ । तर यस अवधिमा प्रगति भने करिब ७ प्रतिशतमात्रै छ । कोरोना महामारीलगायतको कारण देखाउँदै सडक निर्माण शुरू गरिएको वषौँ बितिसक्दा पनि सडक अवस्था झन् दिनप्रतिदिन बिग्रन थालेको छ । सडकलाई फराकिलो बनाउने काम सुस्त गतिमा हुँदा घोराही–तुलसीपुरको यात्रामा सधैँ सास्ती हुने गरेको छ । ‘फोरलेन सडक निर्माणको काम अलपत्र बन्दा हामीले सास्ती पाएका छौँ’ तुलसीपुर–५ का गणेश विकले भने– ‘अलपत्र सडक निर्माण हुन लागेको खबर सुनेका छौँ, तर कतै देखिएन् ।’
सडक निर्माणको काम अलपत्र हुँदा हिउँदमा धुलो र वर्षामा हिलोले घोराही र तुलसीपुरको यात्रा कष्टकर हुने गरेको छ । सडक निर्माणको जिम्मा पाएको कम्पनी भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर प्रालिलाई भने हाइसञ्चो छ । कम्पनीले नेपालका आधिकारिक प्रतिनिधि अनुप पाण्डे तोकेको छ तर पाण्डे पनि बेपत्ताजस्तै छन् । निर्माण थालेको लामो समयसम्म पनि कामको प्रगति नहुँदा पनि ठेकेदारलाई कारवाही हुन सकेको छैन् । सडक निर्माण समयमै नहुँदा नागरिकले सास्ती पाएका छन् भने ठेकेदारलाई मस्ती भएको छ । प्रदेश टुडेबाट