दाङ १३ भदौ । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का बिरमान बिक शनिबार श्रीमती सीताको उपचारका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा आए । दिउँसो करिब १ बजेतिर अस्पतालमा आएका उनले श्रीमतीको उपचार गराउन पाएनन् ।
अस्पतालमा सेवा अवरुद्ध हुँदा रुकुमका शेरबहादुर खत्रीले पनि उस्तै सास्ती पाए । छोरा रमेशको उपचारका लागि प्रादेशिक अस्पतालमा पुगेका उनले अस्पतालमा सेवा पाउन सकेनन् । चिकित्सकको आन्दोलनका कारण शेरबहादुरले छोराको उपचार तुलसीपुरकै नीजि मेडिकलमा उपचार गराउन बाध्य भएको बताए । ‘सरकारी अस्पतालमा उपचार हुन सकेन्’ उनले भने–‘राप्ती प्रादेशिक अस्पतालमा उपचार गराउन चिकित्सक नमानेपछि नीजिमा महंगो शुल्कमा उपचार गराएको छु ।’ शुक्रबार दिउँसो अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट विनोद सिंहमाथि दुव्र्यवहार भएपछि राप्ती प्रादेशिक अस्पताल तनावग्रस्त बनेको छ ।
घटनापछि अस्पतालका चिकित्सक तथा कर्मचारीहरु दोषिलाई कार्बाहीको मागसहित आन्दोलनमा छन् । चिकित्सकको आन्दोलनका कारण सेवा अवरुद्ध छ । अस्पतालमा आपतकालिन सेवा, डायलाइसिस र सुत्केरी सेवा बाहेक अन्य सेवा बन्द गरेर उनीहरु आन्दोलनमा हुँदा उपचारका लागि अस्पतालमा आएका बिरामीहरुले सहजै उपचार पाउन सकेका छैनन । दोषीलाई तत्काल पक्राउ गरेर कार्बाही गरी सेवालाई नियमित बनाउनुपर्ने तुलसीपुरका कलसिंह विश्वकर्माले बताए । उनले भने–‘दोषी कार्बाहीको भागिदार हुनुपर्छ, पीडितले न्याय पाउनुपर्छ ।’
चिकित्सकको प्रहरी कार्यालयमा धर्ना
दोषिलाई पक्राउ गर्न मागसहित चिकित्सक तथा स्वास्थ्यकर्मीले शनिबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिए । प्रहरीले नै पक्राउ गर्न चासो नदिएको उनीहरूको आरोप छ । घटना भएको दुई दिन हुदा समेत चिकित्कसको दुव्र्यवहारमा संलग्न दोषि अझै पक्राउ नपर्दा अस्पताल झनै् तनावग्रस्त बनेको छ ।
अस्पतालमा इमरजेन्सीमा काम गर्नेहरुले समेत शनिबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कालोपट्टी बाँधेर काम गरेका थिए । दोषी पक्राउ नपर्दासम्म आन्दोलन जारी रहने अस्पतालका सञ्चालन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले बताए । ‘घटना भएको लामो समयसम्म पनि दोषी पक्राउ पर्न सकेका छैनन् ।’ प्रदेश टुडेबाट