Indrenionline.com

व्यवस्थित हुन नसकेको आधुनिक बसपार्क

दाङ, ६ भदौ । नाम आधुनिक बसपार्क । तर न फोहोरको सही व्यवस्थापन, न त संरक्षणमा नै चासो । दैनिक करिब दुई सय सवारीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हजारौँ यात्रु बस चढ्ने र ओर्लिने तुलसीपुरको नयाँ बसपार्क अस्तव्यस्त हुँदा आधुनिक बसपार्कको नाम नै बदनाम हुन थालेको छ । करिब पाँच बिगाह क्षेत्रफलमा फैलिएको बसपार्कमा काउन्टरदेखि सार्वजनिक शौचालय अस्तव्यस्त तरिकाले सञ्चालन भएका छन् ।

स्थानीय तहको निर्वाचन भएदेखि नै तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई स्मार्ट सिटी बनाउने योजना अघि सारेका छन् । स्मार्ट सिटीको एउटा सूचक आधुनिक बसपार्क हो । करिब डेढ वर्षअघि २०७६ सालको पुसको अन्तिमतिर तुलसीपुरको आधुनिक बसपार्क सञ्चालनमा आयो तर व्यवस्थापन फितलो हुँदा बसपार्क अस्तव्यस्त बन्दै गएको छ ।

बसपार्क संरक्षणको अभावमा संरचनामा क्षति पुग्दै गएको छ भने फोहोर व्यवस्थापन सही नहुँदा फोहोरले बसपार्क कुरूप बनेको छ । बसपार्कको मुख्य काउन्टर वरपर फोहोरले भरिएको छ भने शौचालय पनि सरसफाईको अभावमा दुर्गन्धित बनेका छन् ।

आधुनिक बसपार्क नाम दिइएको नयाँ बसपार्कमा फोहोर व्यवस्थापनका लागि राखिएका डस्टबिन खाली छन् तर डस्टबिन वरफर यत्रतत्र फोहोर छ । आधुनिक बसपार्कको संरक्षणमा तुलसीपुर उपमहानगरपालिकाले चासो नदिदा बसपार्कको अवस्था अस्तब्यस्त जस्तै बनेको छ । बसपार्कमा हप्तामा एक दिनमात्रै फोहोर लिन तुलसीपुर उपमहानगरपालिकाको गाडी जाने गरेको छ ।

दैनिक फोहोर नउठ्दा बसपार्क क्षेत्रको सौन्दर्यमा दिनप्रतिदिन ह्रास आउन थालेको त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका इन्चार्ज निर्मल थापाले बताए । ‘आधुनिक बसपार्क त बनायौँ तर यसलाई संरक्षण गर्ने दायित्व कसको हो रु’ उनले भने– ‘अभिभावकबिहीन बनेको बसपार्कमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ ।’

बसपार्कको सरसफाई र उचित ब्यवस्थापनको जिम्मा तुलसीपुर उपमहानगरपालिकाको भएपनि उपमहानगरपालिकाले सरसफाईमा ध्यान दिन नसकेको त्रिसिद्धेश्वरी यातायात प्रालिका प्रशासनिक प्रमुख कृष्ण केसीले बताए । ‘उपमहानगर–पालिकाले हामीबाट करमात्रै असुल्ने गरेको छ, सरसफाईमा चासो दिएको छैन् ।’ उनले भने– ‘नगरको चासो नहुँदा आधुनिक बसपार्कको नामले बदनाम बनाएको छ ।’ प्रदेश टुडेबाट