Indrenionline.com

घोराही–मुर्कुटी सडक सुधार आन्दोलनमा २५ बढी टोल विकास संस्था र अगुवाहरुको ऐक्यबद्धता

दाङ, ३ भदौ । दाङको घोराहीदेखि मुर्कुटीसम्मको सडक सुधारका लागि सडक क्षेत्रका २५ बढी टोल विकास संस्थाले थालेको आन्दोलनमा विभिन्न क्षेत्रका अगुवाहरुले एक्येबद्धता जनाएका छन् । घोराही नवलपुरमा आयोजित कार्यक्रममा उनीहरुले एक्येबद्धता जनाएको हुन् ।

वक्ताहरुले टिप्परका लागि बैकल्पिक सडक तत्काल सञ्चालन गरिनुपर्ने बताएका छन् । आन्दोलनबारे जानकारी दिंदै घोराही–मुकुटी सडक सुधार सरोकार समितिका संयोजक नारदमणि पोख्रेलले मदन भण्डारी लोकमार्गको घोराही–मुर्कुटी सडक सुरक्षित गर्न, सडक क्षेत्रका जनताको जीवन सुरक्षित र यात्रा सहज बनाउन, सिमेन्ट उद्योगको कच्चा पदार्थ ढुवानीका लागि वैकल्पिक र स्थायी मार्ग सुनिश्चित गर्न र सडकलाई खाल्डाखुल्डी, हिलो, धुलो र दुर्घटनाबाट मुक्त गर्न आन्दोलन शुरु गरिएको बताए । वैकल्पिक सडक निर्माण नहुँदासम्म आन्दोलन जारी राख्ने भन्दै उनले सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

सहभागीहरुले आन्दोलन सही भएकाले कुनै आंशिक सहमतिमा आन्दोलन नतुहाउन आग्रह गरेका थिए । बिगतमा आन्दोलन भए पनि सामान्य सम्झौतामा टुंगिने गरेको भन्दै उनीहरुले यसपटक वैकल्पिक सडक सञ्चालन नहुँदासम्म आन्दोलन जारी रहनुपर्ने बताए ।
कार्यक्रममा घोराही १५ का अध्यक्ष रमेश पाण्डेय, घोराही ४ का अध्यक्ष भीमबहादुर सार्की, घोराही ३ का अध्यक्ष माधव चौधरी, नागरिक समाजका कार्यवाहक अध्यक्ष हरिप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, दाङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुशील पोख्रेल, सरोकार समितिका सहसंयोजक टेकबहादुर घर्तीलगायतले आफ्ना धारणा राखेका थिए ।

आन्दोलनका कार्यक्रमअन्तर्गत वैकल्पिक सडक सञ्चालनमा नआउँदासम्म आन्दोलन जारी रहने, वैकल्पिक सडक सञ्चालन नहुँदासम्म साँझ ७ बजेदेखि विहान ६ बजेसम्म मात्रै सिमेन्ट उद्योगसम्बद्ध टिप्पर चल्न दिइनेछ र उद्योगदेखि खानीस्थलसम्मको सडक किनारामा कतै पनि टिप्पर पार्किङ गर्न नदिने जानकारी गराइएको थियो । कार्यक्रम सहजीकरण सरोकार समिति सदस्य पुरन शर्माले गरेका थिए ।

घोराही–मुर्कुटी सडक सुधार सरोकार समितिले यसअघि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घोराही उपमानगरपालिका, बंगलाचुली गाउँपालिका, सडक डिभिजन कार्यालय र जिल्ला ट्राफिक कार्यालयमा ज्ञापनपत्र बुझाइसकेको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ ले दिनको समयमा टिप्पर चलाउन लगाएको रोकप्रति समर्थन गर्दै समितिले दैनिक टिप्पर सञ्चालनको अनुगमन पनि गरिरहेको संयोजक पोख्रेलले जानकारी दिए ।