इन्द्रेणी संवाददाता
दाङ, २९ साउन । प्रेस काउन्सिल नेपालले कोभिडका कारण निधन भएका पत्रकारहरुलाई आर्थिक सहयोग गरेको छ । पत्रकारिता गरीरहेका र कोभीडका कारण निधन भएका दाङका दुई पत्रकारका परिवारलाई आर्थिक सहयोग गरेको हो ।
काउन्सिलले प्रति परिवार २५ हजारका दरले आर्थिक सहयोग गरेको छ । काउन्सिल पनि दुखको समयमा साथमै रहेको सन्देश दिनका लागि सहयोग गरेको सदस्य अधिकारीले जानकारी दिनुभएको छ ।
यसैक्रममा आज हापुरेमा स्वर्गीय पत्रकार लक्ष्मण बस्नेतकी श्रीमती खिमा बोहरालाई भेट गरी आर्थिक सहयोग गरिएको छ । काउन्सिलका सदस्य अधिकारीसंगै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुबेदी, सल्लाहकार सुदीप गौतम, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य संगीत बस्याल र प्रेस चौतारी दाङका सचिब प्रेमबहादुर राम्जाको सहभागीतामा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
काउन्सिलबाट प्राप्त भएको २५ हजार बराबरको चेक सदस्य अधिकारीले लक्ष्मण बस्नेतकी जीवन संगीनी खिमा बोहरालाई हस्तान्तरण गरे । कार्यक्रममा प्रगतिशील प्राथमिक बिद्यालयका प्रधानाध्यापक जितबहादुर केसीले दुखको समयमा सहयोगको कार्यक्रमले राहत भएको बताए ।