Indrenionline.com

जिल्लामा अक्सिजनको अभाव हुदैनः प्रजिअ कुरुम्वाङ

तुलसीपुर,१५ साउन÷ दाङमा कोरोना  संक्रमणको तेस्रो लहरसंग लड्नका लागि तयारी थालिएको छ ।

बिहिबार तुलसीपुर उपमहानगरपालिका १८ दुधरासस्थित रहेको सोनापुर सिमेन्ट परिसरमा अक्सिजन पलान्ट उद्योग उत्पादनका लागि तयारी गरिरहेको पलान्टको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अवलोकन गरेका छन् । उनले दाङ, रुकुम, प्युठान, रोल्पा र सल्यानलाई समेत पुग्ने गरी अक्सिजन उत्पादनको तयारी भैरहेको बताएका छन् ।

‘हाम्रो जिल्लालाई मात्र नभई अन्य पहाडी जिल्लालाई समेत पुग्ने गरेर अक्सिजनको तयारी गरिरहेका छौं, भोलिको दिनमा कोरोनाको तेस्रो लहर फैलिन सक्ने भन्दै विज्ञहरुले सचेत रहन भनिरहेको बेला हामीले जिल्लामा पूर्व तयारी थालेको उनले भने ।’ यसअघि कोरोना भाइरसको दोस्रो लहरका बेला जिल्लामा अक्सिजनको अभाव भएको थियो । अब कोरोनाको तेस्रो लहरमा जिल्लामा अक्सिजनको अभाव नहुने प्रमुख कुरुम्वाङले बताए ।

त्यस्तै अक्सिजन पलान्ट उद्योगबाट प्रति दिन ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठकले जानकारी दिए । सिमेन्ट उद्योगले आफ्नै लगानीमा उक्त क्षमताको अक्सिजन पलान्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो । महाप्रबन्धक पाठकका अनुसार एक महिना भित्रमा अक्सिजन उत्पादन शुरु हुने छ ।