इन्द्रेणी संवाददाता
दाङ, ७ साउन । पछिल्लो समयमा दाङ लागुऔषध कारोवारको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । यसलाई नियन्त्रण गर्नका लागि दाङको प्रहरीले सक्रियता समेत बढाएको छ ।
बुधवार मात्रै दाङ प्रहरीले दुई जनालाई झण्डै १० किलो चरेशसहित नियन्त्रणमा लिएको छ । गढवा गाउँपालिका वडा नं. १ धानखोलास्थित हुम्ला रलिङ्ग होटलमा लागुऔषधको कारोवार भइरहेको गोप्पे सूचना पाएको प्रहरीले बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका वडा नं. १ बस्ने २१ वर्षका सुदीप सिंजाली मगरलाई ९ किलो ९३० ग्राम चरेशसहित नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई त्यहाँ प्रतिकिलो ४० हजारमा खरिद गरेर प्रतिकिलो ७० देखि ८० हजारमा विक्री गर्न लागेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मगर र भुजेललाई विहीबार प्रहरीले सार्वजनिक समेत गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी रिजालले जानकारी दिए ।
कसरी बन्दैछ दाङ लागुऔषधको ट्रान्जिट प्वाइन्ट
दाङ भारतसँग सीमा जोडिएको जिल्ला हो । र पहाडी जिल्लाहरुसँग पनि सीमा जोडिएको जिल्ला हो । विशेष गरी गाँजा, चरेशजस्ता लागुऔषध पहाडी जिल्लामा उत्पादन हुने र त्यहाँबाट भारतलगायत अन्य जिल्लामा विक्री गर्नका लागि दाङ ल्याउने गरिएको प्रहरीको अनुमान छ ।
यसरी दाङ लागुऔषध एवं अन्य अबैध कारोवारको ट्रान्जिट प्वाइन्ट बन्दै गएपछि प्रहरीले सक्रियता बढाएको छ । दैनिकजसो जिल्लाका विभिन्न ठाउँबाट ब्राउनसुगर, चरेश, खैरो हेरोइन, प्रतिबन्धित बन्यजन्तु बाघ र रेड पाण्डाका छालासहित व्यक्तिहरु पक्राउ परिरहेका छन् । एक सातामा मात्रै जिल्लामा दुई वटा रेडपाण्डाको छालासहित ३ जना, बाघको छालासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।