Indrenionline.com

न्यायीक समितिमा घट्दै मुद्दा दर्ता

इन्द्रेणी संवाददाता
दाङ, २४ असार । घोराही उपमहानगरपालिकाअन्तर्गतको न्यायीक समितिमा वर्षेनी मुद्दा दर्ताको संख्या घट्दै गएको छ । विगत चार वर्षको अवधिलाई हेर्ने हो भने वर्षेनी मुद्दा दर्ताको संख्या घट्दै गएको छ ।

उपमहानगरपालिकाको न्यायीक समितिले उपलब्ध बनाएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा समितिमा २५६ मुद्दा दर्ता भएका थिए । तर पछिल्लो आर्थिक वर्ष २०७५/७६ मा २०६ वटा मात्रै मुद्दा दर्ता हुन आएका थिए ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १५४ र आर्थिक वर्ष २०७७/७८ मा १४१ वटा मुद्दा दर्ता भएको न्यायीक समितिका संयोजक एवं उपमेयर सीता सिग्देल न्यौपानेले जानकारी दिएकी छन् । स्थानीय तहमा जनप्रतिनिधि आएको पहिलो वर्ष अर्थात न्यायीक समिति स्थापना भएको पहिलो वर्ष समाजमा वर्षाैसम्म रहेका मुद्दाहरु दर्ता हुन आएकोले धेरै संख्या देखिएको र त्यसपछि विस्तारै घट्दै गएको उनको भनाइ छ । साथै समाजमा जनचेतनाको विकास सँगै मुद्दा दर्ता घटेको र पछिल्लो समयमा समाज पनि सभ्य बन्दै गएको पनि महसुस भएको न्यौपानेको बताइन् ।

यसैबीच न्यायीक समितिले आर्थिक वर्ष २०७७÷७८ मा गरेको कार्यसम्पादनबारे जानकारी दिदै सो आर्थिक वर्षमा विभन्न प्रकृतिका १४१ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये ९० वटा फछ्यौट भएको बताएको छ । समितिमा लेनदेन, जग्गा विवाद, कुलो नालापानी, घर भाडा घरेलु हिंसा, गाली वेइज्यती, जग्गा रोक्का÷खाता रोक्का, मानाचामललगायतका मुद्दा दर्ता हुदै आएका छन् । सो अवसरमा उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले आफ्ना धारणा राखेका थिए ।