Indrenionline.com

दाङ प्रहरीद्धारा चोरीका १३ मोटरसाइकलसहित आठ जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, १८ असार । दाङ प्रहरीले चोरीका १३ वटा मोटरसाइकलसहित आठ जना पक्राउ गरेको छ । विभिन्न समयमा दाङका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी रोल्पा र प्यूठानमा विक्री गर्दै आएका आठ जनालाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रोल्पा सुनिल स्मृति गाउँपालिका ३ सुलिचौरका श्रीताज अन्सारी, रोल्पा लुङग्री ४ नम्जाका लेखनाथ विष्ट, लुङग्री ५ बडाचौरका टेकेन्द्र विष्ट, लुङग्री ६ गुम्जालका नमबहादुर रोका क्षेत्री, सोहीकै हिराबहादुर विष्ट, भारत बलरामपुर तुलसीपुर जिल्ला ठेगाना भएका मोहमद रफिक, घोराही उपमहानगरपालिका १९ बस्ने जावेद खान र प्यूठान स्वर्गद्धारी ३ जलुकेका ठगिराम थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । अन्सारी ग्लोवल बजाज सर्भिस सेन्टर सुलिचौरका सञ्चालक समेत हुन् ।

चोरीमा संलग्न उनीहरुलाई मोटरसाइकलसहित शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरेको छ । उनीहरुले मोटरसाइकल चोरी गर्ने र त्यसको नम्बर र स्वरुप परिवर्तन गरी पहाडी जिल्ला रोल्पा, प्यूठानमा विक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

दाङका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी रोल्पा र प्यूठानमा विक्री भइरहेको सूचनाका आधारमा दाङ प्रहरीको टोली ती जिल्लाका विभिन्न स्थानमा खटिएर ती व्यक्ति र मोटरसाइकल नियन्त्रणमा लिएको हो । उनीहरुबाट नागरिकता, केही मोटरसाइकलका व्लुवुक, मोवाइल समेत प्रहरीले बरामद गरेको छ ।

चोरी गरिएका मोटरसाइकलका नम्बर परिवर्तन भइसकेकाले ती मोटरसाइकलको वास्तविक नम्बर पहिचान नभइसकेकाले चोसिस नम्बर र इन्जिन नम्बरको आधारमा आफ्नो मोटरसाइकल पहिचान गरी प्रहरीका सम्पर्क गर्न मोटरसाइकल धनीलाई प्रहरीले अनुरोध समेत गरेको छ ।

पछिल्लो समयमा जिल्लाका मोटरसाइकल चोरीको घटना बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न प्रहरीको सक्रियता बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले बताए ।