Indrenionline.com

सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता गर्नुस् : अध्यक्ष पोख्रेल

इन्द्रेणी संवाददाता
दाङ, ११ जेठ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले कोरोना महामारीमा आफ्नो स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । आज मंगलवार नेपाल पत्रकार महासंघ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रम एवं दाङशाखाको नियमित बैठकमा अध्यक्ष पोख्रेलले यस्तो आग्रह गरेका हुन् ।

महामारीको समयमा फन्टलाइनमा काम गर्दै गर्दा केही पत्रकारहरुको ज्यान समेत गएको कुरालाई स्मरण गर्दै उनले स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै स्वतन्त्र, निष्पक्ष र समाजिक उत्तरदायित्वसहितको पत्रकारिता गर्नु आग्रह गरे । साथै यतिवेदा विभिन्न सञ्चारगृहहरुमा काम गर्ने सञ्चारकर्मीहरुको अवस्थाका बारेमा पनि महासंघले अध्ययन गरिरहेको बताए ।

शाखा अध्यक्ष दुर्गाला केसीको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष पोख्रेल, उपाध्यक्ष उदय जिएम र प्रेस काउन्सिल सदस्य शरद अधिकारीलाई सम्मान गरिएको थियो ।
बैठकमा पत्रकार महासंघ दाङ शाखाले कोरोना महामारीको समयमा पत्रकारहरुका लागि पत्रकार महासंघको भवनमा आइसोलेसन स्थापना, संक्रमित पत्रकारहरुसँग भेटघाटसँगै स्वास्थ्य सामग्री र पौष्ट्रिक आहार प्रदान, पत्रकार राहत सहायता कोष स्थापना, संक्रमित पत्रकारहरुको उपचारमा सहजिकरण लगायत कार्यहरुको समीक्षा गरिएको थियो। बैठकले हालसम्म भएका कार्यहरु प्रभावकारी भएको र आगामी दिनमा पनि यी कार्यहरुलाई निरन्तरता दिदै अगाडी बढ्ने निर्णय गरेको छ ।

त्यसैगरी कोरोना महामारीको समयमा जिल्लामा रहेका सञ्चारमाध्यमहरुको अवस्थाको बारेमा अध्ययन गर्नका लागि उपाध्यक्ष सन्तोष सुवेदी संयोजक, सहसचिव दशरथ घिमीरे र कोषाध्यक्ष शरद रेग्मी सदस्य रहेको अध्ययन समिति गठन गर्ने, नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्यहरु विपुल पोख्रेल नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष, उदय जि.एम केन्द्रिय उपाध्यक्षमा निर्वाचित र शरद अधिकारी प्रेस काउन्सिल नेपालको सदस्यमा मनोनित भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै महासंघ दाङ शाखा सदस्य बबई गाँउपालिका ४ हापुरेका लक्ष्मण बस्नेतको यही जेठ ३ गते र उहाँको वुवा टोपबहादुर बस्नेतको जेठ २ गते कोरोना भाईरस संक्रमणका कारण असामयिक निधन भएकाले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने निर्णय गरिएको सचिव आरके शितलले जानकारी दिएका छन् ।