तुलसीपुर, ५ जेठ । उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो अस्पताललाई तुलसीपुर उपमहानगरपालिका–६ नम्बर वडाले अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना अस्पतालका लागि २ वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो ।
कन्सटे«टरले प्रति मिनेट ४ लिटरसम्म अक्सिजन उत्पादन गर्ने गर्छ । अक्सिजन अभावमा कोरोना संक्रमित बिरामी छटपटीएका बेला अक्सिजन कन्सट्रेटर उपकरण खरिद गरेर कोरोना आइसोलेसन अस्पताललाई दिने ६ नम्बर वडा १९ वटा वडा मध्य पहिलो हो । कन्सट्रेटर मंगलबार रातिदेखि संचालनमा आएको छ ।
यसैबिच नेपाल रेडक्रस दाङले तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ । अस्पतालमा संचालित आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामीका लागि ३ वटा वाटर डिस्पेन्सर, एक हजार लिटरको टंकी, पानी तातो गराउन प्रयोग गरिने ३० वटा किट्ली, ५ वटा टेबुल पंखा, ५० वटा गिलास दिएको रेडक्रसले जानकारी दिएको छ ।
रेडक्रसका कार्यक्रम अधिकृत विश्राम अधिकारीले एक कार्यक्रमका बिच तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेलेलाई हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि यूनिसेफको साझेदारीमा रेडक्रसले विभिन्न सामग्री सहयोग गरेको थियो ।