Indrenionline.com

उपचारमा सहज वातावरण बनाउन पत्रकार महासंघको तीनै तहका सरकारलाई अपिल

इन्द्रेणी संवाददाता
दाङ, २९ बैशाख । दिनानुदिन कोरोनाका विरामी बढ्दै जाँदा र अस्पतालमा वेड र अक्सिजनको अभावमा विरामीले ज्यान गुमाउनु परिरहेको भन्दै नेपाल पत्रकार महासंघ दाङले उपचारका लागि सहज वातावरण बनाउन तीनै तहका सरकारी सांसद, राजनीतिक दल र जिल्लास्थित जिम्मेवार सरकारी अधिकारीहरुलाई अपिल गरेको छ ।

महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितलले एक विज्ञप्ति जारी गर्दै यो जटिल परिस्थितिमा विरामीलाई उपचारको सहज बनाएर उनीहरुको ज्यान बचाउन अपिल गरेका हुन् । ‘यस्तो जटिल परिस्थितीप्रति गम्भिर हुँदै बिरामीले सहजै वेड, अक्सिजन र उपचार पाउने वातावरण मिलाउन तीनै तहका सरकार, सांसद्, राजनीतिक दल र जिल्लास्थित सरकारी अधिकारीहरुलाई हामी हार्दिक अपिल गर्दछौ’, विज्ञप्तिमा भनिएक छ ।

साथै जिल्लाका सरकारी तथा निजी अस्पतालहरुले कोरोना बाहेकका अन्य गम्भीर विरामीहरुको समेत उपचार गर्न आनाकानी गरिरहेको अवस्था रहेको भन्दै उपचार नपाएर मानिसको ज्यान जानु ठूलो विडम्वना भएको विज्ञप्तिमा उल्लेख छ । हाल दाङमा कोरोना बिशेष अस्पताल बेलझुण्डी वाहेक अन्यत्र कतै पनि आइसियू बेड नभएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उद्घाटन भएर पनि आइसियू सञ्चालन हुन नसकेकाले तत्काल सञ्चालन गर्न आग्रह गरिएको छ ।