इन्द्रेणी संवाददाता
दाङ, २१ बैशाख । नेपाल पत्रकार महासंघ दाङको भवनमा पत्रकारहरुका लागि आइसोलेशन स्थापना गरिएको छ । कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालमा शैय्या पाउन कठिन भइरहेकोले पत्रकारलाई सहज रुपमा उपचार गर्ने वातावरण मिलाउन महासंघमा अक्सिजनसहित ६ बेडको आइसोलेशन स्थापना गरिएको हो ।
त्यसैगरी उपाध्याक्ष बसुन्धरा गोतम संयोजक, कार्यसमिति सदस्य कुलदिप न्यौपाने र सदस्य राधा पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति र उपाध्यक्ष सन्तोष सुवेदी संयोजक, सचिव आरके शीतल, निवर्तमान सचिव भुपेन्द्र वली, कार्यसमिति सदस्यहरु उदय विसी र गिरिराज नेपाली सदस्य रहेको आईसोलेशन कक्ष व्यवस्थापन समिति गठन गरिएको छ ।
कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरुका लागि पनि आइसोलेसन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक परेमा आईसोलेशन सञ्चालनका लागि महासंघको भवन उपलब्ध गराउन सकिने निर्णय गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार राहत सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ । जसका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाको नाममा नेपाल बैंक लि। घोराही शाखामा रहेको खाता ननं. ०२७०१०००२६८४९७०००००१ मा आर्थिक सहायताका लागि सम्पूर्ण सहयोगी निकाय एवं व्यक्तीहरुलाई अपील गर्ने निर्णय गरेको छ ।