Indrenionline.com

दाङमा अबैध बाघको छालासहित दुई जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, १२ फागुन । दाङ प्रहरीले बाघको छालासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ गर्नेहरुमा सल्यान वागचौर नगरपालिका ९ वस्ने २९ वर्षका सन्दीप डाँगी र शारदा नगरपालिका १५ बस्ने ३७ वर्षका इन्द्रबहादुर विक रहेका छन् ।

उनीहरुलाई फागुन ११ गते तुलसीपुर उपमहानगरपालिका ४ गोठीखोलामा बाघको छालाको कारोवार गर्न लागेको गाप्पे सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुलाई आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक समेत गरेको छ ।

उनीहरुबाट प्रहरीले ४ फिट ५ इञ्च लम्वाइ १ फिट चौडाइ रहेको बाघको छाला समेत बरामद गरेको छ । उक्त छाला अगाडिको दुबै खट्टालाई तन्काइ नाप्दा ४ फिट २ इञ्च लम्वाइ र पछाडिको खुट्टालाई तन्काइ नाप्दा ३ फिट ३ इञ्च लम्वाइ १ फिट ११ इञ्च चौडाइ रहेको प्रहरीले जनाएको छ । डाँगी र विकलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।