Indrenionline.com

पर्यटकीय क्षेत्र पुरन्धारा झरनाको विकास गर्न सरोकारवालाको सुझाव

प्रेमबहादुर राम्जा
हापुरे, १२ फागुन । बबई गाउँपालिकाको पर्यटकिय क्षेत्र पुरन्धारा झरनाको बिकासका लागि सरोकारवालासंग मंगलबार (आज) छलफल गरिएको छ । “आर्थिक समृद्धिमा बबईको आधार, पर्यटकीयक्षेत्र पुरन्धारा झरनाको पूर्बाधार” भन्ने नाराका साथ पुरन्धारा झरना पूर्बाधार बिकास सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम भएको हो ।

बबई गाउँपालिकाले आयोजना गरेको छलफलमा पालिकाभित्र रहेका जनप्रतिनीधि, कर्मचारी, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयको सहभागीता रहेको थियो । छलफल कार्यक्रममा बोल्ने सरोकारवालाले पुरन्धारा झरनाको बिकास गर्दा पुराना संचरना संरक्षण गरी गर्न सुझाव दिएका छन् । बिकासका नाममा पुराना संचरनामा असर नपर्ने गरी काम गर्न सहभागीहरुले बताएका हुन् ।

छलफलमा बोल्ने स्थानीयले शान्ति सुरक्षा, पिउने पानीको ब्यबस्था, सडक यातायातलाई समेत सहज बनाउन आग्रह गरिएको छ । पानीको मुहान संरक्षण गर्न सुझाव दिदै झरना वरपर रहेको बन क्षेत्रलाई समेत संरक्षण गर्नुपर्ने बताएका थिए । स्थानीय पुर्णबहादुर केसीले झरनाको बिकासका लागि शान्ति सुरक्षा, पानीको मुहान संरक्षण र असहज रुपमा रहेको सडकलाई सहज बनाउने कार्यमा ध्यान दिन आग्रह गरिएको छ ।

कार्यक्रममा बोल्दै डिभीजन बन कार्यालय दाङका प्रमुख बिजयराज सुबेदीले पुरन्धारा झरनालाई पर्यापर्यटिय क्षेत्रका रुपमा बिकास गर्नुपर्ने बताए । प्राकृतिक श्रोतको संरक्षणको जिम्मा स्थानीयमा रहेको भन्दै त्यसको जिम्मेवारी लिन आग्रह गरे । सुबेदीले झरनाको बिकासका लागि तयार पारिएको गुरुयोजनालाई बबई गाउँपालिकाको कार्यपालिका बैठक मार्फत् पास गरी काम अघि बढाउन आग्रह गरे ।

त्यस्तै पुरन्धारा झरनाको बिकासका लागि तयार पारिएको गुरुयोजनाको बारेमा जानकारी गराउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लले मुख्य गेट, बसपार्क, पार्क, चिल्ड्रेन पार्क, प्रतिक्षालय, शौचालय, मन्दिर, पसलका लागि सटर, पानीको ब्यबस्थासहित तयार पारिएको जानकारी दिएका थिए

झरनाको बिकासका लागि तयार पारिएको गुरुयोजनाले ९ करोड ९१ लाख २९ हजार ५४७ रुपैया अनुमानित रकम लाग्ने आँकलन गरिएको छ । पहिलो चरणमा पर्यटन मन्त्रालय मार्फत् चालु आर्थिक बर्षमा ३ करोड ५० लाख प्राप्त भएको छ भने गाउँपालिकाले १ लाख ५० लाख गरी ५ करोड बजेटको ब्यबस्था गरिएको छ ।