Indrenionline.com

विद्यालय पूर्वाधार विकासमा ६० लाख बढी बजेट

तिर्थराज ज्ञवाली
देउखुरी, ९ माघ । राप्ती गाउँपालिकामा विद्यालयको भौतिक तथा शैक्षिक सुधार गर्न बजेट विनियोजन गरिएको छ ।

राप्ती गाउँपालिका शिक्षा समितिको बसेको बैठकले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकास र विद्यालयमा शैक्षिक गुणस्तर सुदृढिकरण एवम कार्य सम्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

राप्ती गाउँपालिका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको बैठकले शिक्षा तर्फ सशर्त अनुदान स्वरुप प्राप्त कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७७/७८ को लागि विद्यालयलाई भौतिक पूर्वाधार विकासका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको शिक्षा शाखा संयोजक विश्वास विकले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास तर्फ ४ कोठे विद्यालय भवन निर्माणका लागि श्रीदुर्गा भवानी आधारभूत विद्यायल मसुरियामा ३६ लाख, शौचालय निर्माणका लागि श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भालुवाङलाई ७ लाख, शौचालय निर्माणका लागि श्री जनता आधारभूत विद्यालय करङ्गेकोटका लागि ७ लाख विनियोजन गरिएको शिक्षा शाखा सह संयोजक बासुदेव खनालले जानकारी दिए ।

राप्ती क्षेत्रका विद्यालयमा शैक्षिक गुणस्तर सुदृढिकरण एवम कार्य सम्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि शिक्षण सिकाइमा प्रयोगका लागि नवप्रतिभा आधारभुत विद्यालय पाखापानी ६ लाख ५० हजार, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदानका लागि ६ लाख ५० हजार, माध्यमिक विद्यालय रुपाकोटमा पुस्तकालय स्थापना तथा व्यवस्थापन का लागि ६ लाख ५० हजार अनुदान दिने निर्णय गरिएको छ ।

विद्यालयमा शैक्षिक गुणस्तर सुदृढिकरण एवम कार्य सम्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तरगत बालकल्याण आधारभुत विद्यालय पहरुवा, प्राथमिक विद्यालय थकरीकोट, शंकर माध्यमिक विद्यालय पिपरी, जनता आधारभुत विद्यालय करङ्गेकोट, बाल प्रगती प्राथमिक विद्यालय तल्लोघोस खोलालाई रकम विनियोजन गरिएको छ ।

सामुदायिक विद्यालयमा गणित विज्ञान तथा अंग्रेजी विषयका लागि क्रियाकलापमा आधारित सञ्चालन गर्न नवज्योति आधारभुत विद्यालय सिरिचौरलाई अनुदान दिने निर्णय गरिएको छ ।