इन्द्रेणी संवाददाता
दाङ, २९ पुस । दाङ प्रहरीले समाजमा हुने बिभिन्न प्रकृतिका अपराध तथा बिकृती रोकथाम तथा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम संचालन गरेको छ । पुष महिनामा दाङ प्रहरीले १२० स्थानमा सचेना मूलक कार्यक्रम संचालन गरेको हो ।
हाल महामारीको रुपमा फैलिएको कोभिड १९ रोकथामको लागी समेत तपाई मास्क खोई ? अभियान संचालन गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिएका छन् ।
हिउँदका महिनाहरुमा शितलहर तथा बाक्लो कुहिरोका कारण सृजना हुन सक्ने विपदहरु जस्तै बाक्लो कुहिरोको कारण सवारी दुर्घटना हुन सक्ने, शितलहर अत्याधिक चिसो बढ्न गई कठाङ्ग्रीएर ज्यान जान सक्ने जोखिमबाट जनजीवनमा प्रभाव पर्ने र धनजनको क्षती हुन सक्ने सम्भावना रहेको र यसको जोखिमबाट आम नागरिकलाई बचाउन प्रहरीद्वारा नागरिकहरुलाई सचेतना दिने उदेश्यले शितलहर जोखिम न्यूनिकरण अभियान संचालन गरिएको हो।
बिगतका दिनहरुमा आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान, बाल बिबाह रोकथाम अभियान, लैंगिक हिंसा बिरुद्धको प्रहरी अभियान बिशेष रुपमा संचालन गरि सकेको छ भने हाल सवारी साधन तथा सार्वजनिक स्थानमा हुने यौनजन्य दुर्ब्यबहार नियन्त्रण र कारबाही अभियान र जातिय छुवाछुत तथा बाल बिबाह रोकथाम र नियन्त्रण सम्बन्धी ३ महिने अभियान निरन्तर रुपमा संचालन भई रहेको छ ।
सवारी साधनमा हुने यौनजन्य दुर्ब्यबहार नियन्त्रणको लागी सार्वजनिक सवारी साधनहरुमा सादा पोशाकमा प्रहरी कर्मचारी खटाएको चन्दले बताए । यस्ता कुनै प्रकारको यौनजन्य दुर्ब्यबहार भएमा १०४ मा जानकारी गराउन हुन अनुरोध गरिन्छ ।