घोराही । बिहिवार घोराहीमा २९ औँ अन्तर्राष्ट्रिय अपांगता दिवश मनाइएको छ । “कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितताःअपांगता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि हामि सबैको प्रतिवद्धता भन्ने नाराका साथ दिवश मनाइएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले अपांगता भएकाहरुको बिषयमा गम्भीर बन्न स्थानीय निकायलाई अनुरोध गरेका थिए । अपांगमैत्री भवन निर्माण, अपांगता भएकाहरुलाई शिपमुलक तालिम, सहायक सामाग्रीको व्यवस्था, उनीहरुको पुनर्रस्थापना, आयआर्जनका कार्यक्रममा सवालमा स्थानीय तहले कार्यक्रमहरु ल्याउन सुझाव थियो ।
कार्यक्रममा अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका उपमहासचिव चिन्तामणि पौडेलले स्थानीय तहले अपांगता भएकाहरुको क्षेत्रमा खुलेर काम गर्नुपर्ने बताए । पछिल्लो समयमा स्थानीय तहमा अपांगताको सवालमा कम बजेट विनियोजन भएको भन्दै अपांगको संरक्षणका लागि आग्रह गरे ।
कार्यक्रममा महिला बालवालिका तथा सामाजिक विकास महाशाखा संयोजक पशुपति चौधरी, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष हुमा डिसी, महिला अधिकारक्रर्मी सुशीला पौडेल लगायतकाले आफ्ना भनाइ राखेका थिए । घोराही उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्धारी शाखा दाङका सभापति शरद अधिकारीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन अपांग संघका शिव घर्तीले गरेका थिए । दिवशको अवसरमा अपांगताको क्षेत्रमा कलम चलाएको भन्दै राप्तीपोष्ट दैनिककी पत्रकार विमला घर्तीलाई पुरस्कृत गरिएको थियो ।