तुलसीपुर, १९ कार्तिक । दाङ जिल्लामा यस वर्ष मकैको उत्पादन बढेको छ । मकै खेतीका लागि समयमै पानी पर्नाका साथै मल बीउ पर्याप्त भएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले बताएको हो ।
उनले भने, ‘यस वर्ष लकडाउन पनि भयो, सबै किसान घरमै भए, बाहिर कमाउन गएकाहरू पनि घर फर्केकाले र जग्गा पनि बाँझो रहने अबस्था नभएकाले मकै उत्पादनमा वृद्धि भएको हो । यस वर्ष कुल २३ हजार ४४८ हेक्टर जमीनमा मकै खेती गरिएकामा ३५ हजार ६५६ मेट्रिकटन मकै उत्पादन भएको छ ।
गतवर्ष ३५ हजार ४१० मेट्रिकटन मकै उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष २४६ मेट्रिकटन बढी मकै उत्पादन भएको अर्थविज्ञ श्रेष्ठले बताए ।
मकैको उत्पादन बढेकाले किसानहरू पनि खुशी भएका छन् । गढवा गाउँपालिका– ७ मोतिपुरका चोकनाथ चौधरीले गत वर्षकोभन्दा यसवर्ष मकैबाली राम्रो भएको बताए । उनले एक बिघा जमीनमा मकै खेती गरेका थिए । गत वैशाख महीनामा बसन्ते मकै र त्यसअघि वर्षे मकैको उत्पादन वृद्धि भएको उनको भनाइ थियो । रासस