इन्द्रेणी संवाददाता
दाङ, ७ असोज । डिभिजन वन कार्यालय दाङ र पुरन्धारा सव-डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले सोमबार बबई गाँउपालिका वडा नं. ५ जौबारीमा अवैद्य चिरान काठसहित १ जनालाई पक्राउ गरेको छ ।
विना ईजाजत अवैद्य वन पैदावार हानी नोक्सानी, लुकाई छिपाई राखेको र ओसार पसार गर्न लागेको सुचना विशेष सुराकी संयन्त्रबाट प्राप्त भएपछि पुरन्धारा सव डिभिजन वन कार्यालयका स.व.अ. सिद्धान्त बरालको नेतृत्वमा सहायक वन अधिकृतहरु संयोग वस्नेत र विष्णुप्रसाद लामिछाने र सशस्त्र वन रक्षकसहितको गस्ती टोली परिचालन गरिएको थियो ।
गस्ती टोलीछारा संकित स्थानको करीव ४ घण्टाको निरन्तर खोजतलास पछि बबई गाँउपालिका वडा नं. ५ अन्तर्गतको जौवारी भन्ने स्थानमा रहेको नवराज खत्रीको घर करेसाबाट साल जातका गोलिया थान ६ को ६.५० क्यू.फिट र ऐ.ऐ. वस्ने भुपाल रोकाको घर करेसामा फेला पारेको चिरान काठ ६.८३ क्यू.फिट गरी जम्मा १३.३३ क्यू.फिट काठ गस्ती टोलीको निरन्तर १७ घण्टाको प्रयास पछि बरामद गरी बरामद गरिएको काठ ट्याक्टरमा लोड गराइ पुरन्धारा सव डिभिजन वन कार्यालय परिसरमा सुरक्षित राखिएको छ ।
त्यसैगरी बबई गाँउपालिका वडा नं. ५ स्थित खाल्टे भन्ने स्थान सोही गस्ती टोलीले गेदलाल बुढाथोकीको छोरा बलबहादुर बुढाथोकीले वन क्षेत्रमा अतिक्रमण गरी बनाएको छाप्रो भेटिएकोमा खानतलासी गर्दा साल जातको अवैद्य चिरान काठ थान ६२ को १०१.४० क्यू.फिट बरामद गरि काठ लुकाउन बनाइएको काठको अस्थायी छाप्रो स्थानीयहरुको रोहबरमा भत्काइएको जानकारी स.व.अ. सिद्धान्त बरालले बताए ।
घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धानको शिलसिलामा डिभिजन वन कार्यालयमा राखिएको र घटनाका बारेमा विस्तृत अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकिएकोले घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको जानकारी डिभिजनल वन अधिकृत विजयराज सुवेदीले दिए । अतिक्रमणकारीलाई वन ऐन २०७६ बमोजिम पाँच वर्ष कैद र विगो असुल गरी १ लाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको डिभिजनल वन अधिकृत सवेदीले बताए ।