Indrenionline.com

घोराही उपमहानगरपालिकाका ६ कर्मचारीसहित दाङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

इन्द्रेणी संवाददाता
दाङ, ३० भदौ । दाङमा मंगलवार थप २३ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि घोराहीको पद्योदय स्कूलको स्वाब कलेक्सन सेन्टरमा संकलन गरिएको नमूना परीक्षण गर्दा २३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यहाँ संकलन भएको नमूनाहरुमध्ये ९५ ओटा नमूना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा १२ महिला र ११ पुरुष रहेका छन् । उनीहरुमा लक्ष्यण भने नदेखिएको बताइएको छ ।

कोरोना संक्रमण देखिनेमा ६ जना घोराही उपमहानगरपालिकाका कर्मचारी समेत रहेको बताइएको छ । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ९४२ पुगेको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।