Indrenionline.com

दाङमा थपिए ४४ जना कोरोना संक्रमित

इन्द्रेणी संवाददाता
दाङ, २९ भदौ । दाङमा आज सोमवार एकैदिन ४४ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको नमूना पीसीआर परीक्षणमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित पुष्टि हुनेमा घोराही उपमहानगरपालिका भित्रका १९ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र बबई गाउँपालिकाका ८ जना रहेको प्रतिष्ठानले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रमा संकलन गरिएका ६४ नमूना परीक्षण गर्दा १५ जनामा र प्रतिष्ठानमा गरिएका नमूना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा संकलन भएका ९३ नमूना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको हो भने बबई गाउँपालिकामा संकलन भएका २० ओटा नमूना परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै दाङमा कूल संक्रमितको संख्या ९१९ पुगेको छ । जसमा ७४३ जना निको भएर घर फर्किएका छन् ।