तिर्थराज ज्ञवाली
देउखुरी, २५ भदौ । धार्मिक तथा पर्यटकीयस्थल कुलपानी जाऔ आन्तरिक पर्यटकीय स्थलको प्रवद्र्धन गरौं भन्ने भावनाका साथ गढवा गाउँपालिकाको वडा नं १ मा पर्ने कुलपानी सामुदायिक वन समुहले जिल्लाकै वन समूहमा नमुनायोग्य कार्यको थालनी गरेको छ ।
रमणीय ताल तलैया, धार्मिक मठ मन्दिर तथा आकर्षक बगैचाको परिकल्पनाको साथ उदाहरणीय निर्माण कार्यको थालनी गरिएको छ ।
जिल्लाकै नमुना सामुदायिक वनको रुपमा परिचित वन समुहले स्थानीय गाउँपालिका, वन कार्यालय, उद्योग ब्यवसायी, सहयोगी ब्यक्तिको सहयोगमा हेर्नलायक पार्कको विकास गरेको छ ।
पार्क स्थापनामा सहयोग गर्न समूहको तर्फबाट सहयोगको आब्हान समेत गरिएको छ । यसै सन्दर्भमा विहीवार सरोकारवाला तथा सम्भावित सहयोग दाताबीच छलफल भएको छ ।
गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अध्यक्ष यादवले कुलपानीको यो पर्या-पर्यटन अभियान गढवाकै उदारणीय र सुन्दर स्थलको रुपमा विकास भइ रहेकोमा खुसी ब्यक्त गरे । अध्यक्ष यादवले कुलपानी धार्मिक तथा पर्यटकीय स्थलको विकासमा गढवा गाउँपालिका लागिपर्ने बताए ।
कालाकाटे-गढवा सडकखण्डको कालाकाटे देखी ४ किलोमिटर पश्चिम पर्ने उक्त रमणीय क्षेत्रमा समूहले प्राकृतिक सौन्दर्यताको संरक्षण गर्दै ताल, बगैचा, मन्दिर, पार्क, पैदल मार्ग, बन्यजन्तुको संरक्षण, रुख टावर लगायतको संरचनाको संरक्षण गर्दै निर्माणकार्य सुरु गरेको छ ।