इन्द्रेणी संवाददाता
दाङ, २५ भदौ । दाङको घोराहीमा निर्माणाधिन वायोग्याँस प्लान्टको भौतिक निर्माणको काम सकिएको छ । घोराही उपमहानगरपालिकाको सेनेटरी ल्याण्डफिल्ड साइडको झण्डै ३ विगाह क्षेत्रफलमा ग्याँस प्लान्ट निर्माण भएको हो ।
कोरोना संक्रमणका कारण ग्याँस उत्पादनका लागि भारतबाट आउने प्रविधिसँग जोडिएका (मेसिनरी) सामग्री नआएका कारण प्राविधिक काम अघि बढाउन नसकिएको कम्पनीले बताएको छ । ती सामान आउनसाथ ग्याँस उत्पादनका लागि प्राविधिक काम शुरु हुनेछ । लकडाउन हटेपनि प्रविधिका समान भारतबाट आउने र कार्तिकसम्म ग्याँस उत्पादनको काम शुरु गर्ने लक्ष्य राखिएपनि अब भने सम्भव नभएको प्लान्ट म्यानेजर श्रेष्ठले बताए । ‘पहिलो कुरा त समान कहिने आउने भन्ने टुंगो लागेको छैन’, उनले भने, ‘आएपनि समय घर्की सकेको छ, कार्तिकमा ग्याँस उत्पादन सम्भव छैन ।’
सामान नआउँदा अहिले काम नै बन्द छ । मेकानिकल सामान जडान गर्नुभन्दा अघि गर्नुपर्ने काम सबै सम्पन्न भएको र बाँकी काम प्रविधिका समान जडान गरेपछि मात्रै हुने उनको भनाइ छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र घोराही उपमहानगरपालिकाको सहकार्यमा नेपाल उर्जा विकास कम्पनी प्रालिले करीव रू. २० करोडको लगानीमा प्लान्ट निर्माण गरेको हो ।
२०७५ मंङ्सिर ५ गते घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको थियो । प्लान्ट सञ्चालनमा आएपछि दैनिक ७० देखि ८० सिलिन्डर ग्याँस उत्पादन हुने छ भने २० टन कम्पोष्ट मल उत्पादन हुनेछ । जसका लागि नेपाल उर्जा विकास कम्पनीले २० वर्षका लागि सम्झौता गरेको छ ।
२० वर्षसम्म कम्पनीले आफै ग्याँस उत्पादन गरेर विक्री गर्ने छ भने कारोवारको ५ प्रतिशत घोराही उपमहानगरपालिकालाई रकम दिनुपर्नेछ । २० वर्षपछि कम्पनीले सबै भौतिक संरचना घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । ग्याँस प्लान्टमा नेपाल उर्जा विकास कम्पनीको ६० प्रतिशत र ४० प्रतिशत वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको लगानी छ ।