Indrenionline.com

‘रातकी रानी’ सँग रमाउँदै पूर्वमन्त्री विष्ट

उदय बीसी
दाङ, १८ भदौ । कहिले बिरुवा गोडमेलमा त कहिले लटरम्म फलेका ती लोभ लाग्दा फल स्याहार्न व्यस्त छन् पूर्वमन्त्री लोकेन्द्रबहादुर विष्ट । दिनभर मात्रै होइन कहिलेकाहीँ राती अबेरसम्म पनि उनी आफूले लगाएको ‘ड्रागन फ्रुट’ बगैचामै व्यस्त हुने गर्दछन् ।

लामो राजीतिक जीवनपछि कृषि क्षेत्रमा फर्किएका मन्त्री विष्ट अहिले दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बेल्झुण्डीमा ६६ कट्ठा जमीनमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएका छन् । करीब २ वर्षदेखि व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ मा लागेका मन्त्री विष्टले अहिले दोस्रो चरणको ‘ड्रागन फ्रुट’ संकलन गर्दैछन् । दोस्रो चरणको ड्रागन फल पाकिसकेको छ भने तेस्रो चरणको तयार हुने अवस्थामा छ ।

कुनैबेला राजनीतिक जीवनमा तल्लिन देखिने पूर्वमन्त्री विष्ट आजभोलि आफैले लगाएको ‘ड्रागन फ्रुट’ खेतीमा व्यस्त देखिन्छन् । करीब १ करोड लगानीमा गरिएको ड्रागन फ्रुटको खेतीले अब केही आम्दानी समेत दिन शुरू गरिसकेको उनी बताउँछन् । ‘स्थानीयको गाई चराउने डाँडोलाई मेहनतका साथ खेतीयोग्य बनाइयो’, उनले भने, ‘लगाएको यो ड्रागन खेतीले थोरबहुत आम्दानी दिन पनि शुरू गरेको छ ।’

उत्पादनका हिसाबले ९ महीनामा फल दिने भनिए पनि आफूले लगाएको ड्रागतले ६ महीनामै फाट्टफुट्ट रूपमा फल दिन शुरू गरेको उनले बताए । यो बिरुवा रातमा मात्रै फुल्ने भएकाले पहिलो फूल देख्नलाई आफू मध्यरातसम्म बगैचामै बसेको अनुभव पनि मन्त्री विष्टले सुनाए । ‘रातमा फुल्छ भन्ने मात्रै सुनिएको थियो’, उनले भने, ‘कसरी कस्तो फुल्दो रहेछ भनेर पहिलोपटक फुलेको देख्नलाई रातभरी बगैचामै जागराम पनि बसियो फुलेको पनि देखियो ।’

१५ वर्षका लागि त्यो ६६ कट्ठा डाँडोलाई भाडामा लिएर उनले करीब ७ हजार ड्रागनका बिरुवा रोपेका छन् । बिरुवा रोपेका मात्रै होइनन् उनले अहिले आएर त्यसका बिरुवासमेत विक्री गर्ने गरेका छन् । यो खेती जिल्लामै पहिलोपटक भित्र्याएर आकर्षक रूपमा ड्रागनखेती गरेपछि आजभोलि उनको वगैचामा खेती हेर्न र फलेको फल खानाका लागि मानिसहरु आउने गरेका छन् । मन्त्री विष्टले झण्डै १५ क्वीन्टल ड्रागन पनि विक्री गरिसकेका छन् ।

उनको वगैचामा रातो र सेतो गरी दुई थरीका ट्रागन फ्रूट छन् । सेता प्रतिकेजी सात सय र रातो प्रतिकेजी आठ सयका दरले विक्री गर्दै आएका छन् मन्त्री विष्टले १० हजार बढी त ड्रागनका बिरुवा विक्री गरिसकेका छन् । एभोकाडोको एउटा बिरुवालाई ५०० पर्छ भने ड्रागन फ्रुटको प्रजाति अनुसार सेतोको प्रतिबोट २०० र रातोको ३०० मा किन्न पाइन्छ । १५ वर्षको अवधिमा करीब ३५ देखि ४० लाख बराबरको बिरुवा विक्री गर्ने लक्ष्य राखेको विष्ट बताउँछन् । यस्तै ५ वर्षमा पूर्ण लगानी उठाइसक्ने र बाँकी १० वर्ष मुनाफा गर्ने विष्टको लक्ष्य छ । दश वर्षे जनयुद्ध होस् या त्यसपछिको तत्कालिन एकीकृत नेकपा माओवादीमा समेत सक्रिय राजनीपिित गर्दै आएका मन्त्री विष्ट अहिले राजनीति भन्दा बढी कृषिमापहिचान गराउदै आएका छन् । उनी यो खेतीमा अहिले नमूना समेत बनेका छन् ।

के हो ड्रागन फ्रुट ?
दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्छ । यसको वैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । यसलाई पितया, मुन लभर्स, रातकी रानी, रातकी घन्टी, क्यान्डेरेला लगायत नामले पनि चिनिन्छ । यसको एउटा बिरुवाबाटै धेरै वर्षसम्म उत्पादन लिन सकिन्छ । उपयुक्त वातावरणमा एउटा फलको तौल १५० ग्रामदेखि १ किलोसम्मको हुन्छ ।

फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ । जेठदेखि असोज–कात्तिकसम्म पूmल फुल्ने गर्दछ । यसको फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाइनुका साथै गर्मी मौसममा लस्सी पनि बनाएर खान सकिन्छ ।

यो क्यान्सर, सुगरलगायत बिरामीका लागि पनि उपयोगी रहेको बताइन्छ । यस्तै छालासम्बन्धी विभिन्न रोग, कोलस्ट्रोल नियन्त्रण गर्ने काम गर्नाका साथै क्यान्सर रोगको सम्भावना समेत कम हुने बताइएको छ ।